Rumpum Advertisement

प्रहरी चौकीमै दुई समूहबीच झडप, एक जना गम्भीर घाइते

Neuro
प्रहरी चौकीमै दुई समूहबीच झडप, एक जना गम्भीर घाइते

बैतडी, १७ मङ्सिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

बुधबारस्थानीय युवाहरुको दुई समूहबीच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट लागेको छ ।

गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्कायाएको निहुँमा दुई समूहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः चौकीमै झडप भएको बताइएको छ ।

प्रहरी चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

झडपका क्रममा प्रहरी चौकीमा पनि तोडफोड भएको र सामान्य क्षति भएको छ ।