Rumpum Advertisement

प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई आर्थिक सहयोग गर्न सकिँदैन : मन्त्री अर्याल

प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई आर्थिक सहयोग गर्न सकिँदैन : मन्त्री अर्याल

काठमाडौं, १७ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताएकी छन् ।

साझा प्रकाशनको ५७औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने उनले बताइन् ।

आफू मन्त्री भएदेखि नै १५/१६ करोड रुपैयाँ निकाशा दिएको संस्थाले अझै सुधार गर्न नसक्ने हो भने सरकारले अब थप पैसा दिन नसक्ने स्पष्ट पारिन् । आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्नसमेत आग्रह गरिन् ।

त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउनसमेत निर्देशन दिइन् । भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उनले निर्देशन दिइन् ।

पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्री अर्यालले बताइन् । उनले विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न निर्देशन दिइन् ।

साझा प्रकाशनलाई जहिले पनि कर्मचारी भिड्ने थलो बनाइएको भन्दै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने समेत बताइन् । कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दासम्म संस्थालाई अगाडि बढाउन नसकिने पनि मन्त्री अर्यालले बताइन् ।