विराटनगर, १७ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय नभएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् थापाले पौडेलको गिरफ्तारी परिस्थितिजन्य प्रतिक्रिया नभई नियोजित भएको बताए ।
नेता पौडेललाई निषेधाज्ञा तोडेका आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जानेक्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखेको थियो । उनलाई प्रहरीले साढे तीन घण्टापछि साँझ साढे ५ बजे छोडेको थियो ।
‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन । यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । केपी शर्मा ओली, यो तपाईँका लागि निकै महँगो पर्नेछ’, थापाले फेसबुकमा लेखेका छन् ।
