Rumpum Advertisement

प्रधानमन्त्रीको निर्देशनपछि मदन भण्डारी फाउन्डेसनको गतिविधि तीव्र, इटहरीमा प्रदेश कार्यालय

Neuro
प्रधानमन्त्रीको निर्देशनपछि मदन भण्डारी फाउन्डेसनको गतिविधि तीव्र, इटहरीमा प्रदेश कार्यालय

विराटनगर, १७ मङ्सिर । प्रदेश १ मा मदन भण्डारी फाउन्डेसनको गतिविधि तीव्र भएको छ । पार्टीभित्र विवाद चर्किएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रदेश १ मा फाउन्डेसन गठन तीव्र भएको हो ।

१९ कात्तिकमा प्रधानमन्त्री ओलीले प्रदेश १ का नेतासँग भर्चुअल भेलामार्फत ‘जनताको बहुदलीय जनवाद’ को बहस बढाउन र फाउन्डेसन कमिटी वडासम्म बनाउन निर्देशन दिएका थिए । निर्देशनपछि कमिटी विस्तार तीव्र भएको हो ।

ओलीको निर्देशनपछि इटहरीमा मदन भण्डारी फाउन्डेसनको प्रदेश कार्यालय उद्घाटन भएको छ । २७ कात्तिकमा इटहरी ४ मा प्रदेश कार्यालयको फाउन्डेसनका उपाध्यक्ष गुरु बरालले भर्चुअल भेलामार्फत कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निम्तो दिइएको थियो । तर मुख्यमन्त्री नगएपछि उपाध्यक्ष बरालले उद्घाटन गरेका हुन् ।

१९ कात्तिकमा संकट टार्ने एउटै उपाय भन्दै ‘जनताको बहुदलीय जनवाद (जबज) को मुद्दा जिल्ला र स्थानीय तहमा उठाउन निर्देशन दिएका थिए । पार्टी विवाद समाधान गर्नका लागि पहल गर्नुको साटो ओलीले जबजको अस्त्र प्रयोग गरेपछि नेपाल–प्रचण्ड पक्ष ओलीसँग झन् असन्तुष्ट बनेको छ । तर ओली पक्षले फाउन्डेसन गठनको काम रोकेको छैन ।

उदयपुरमा गठन भएको नयाँ कमिटी

प्रदेश कमिटी अध्यक्ष गोपाल गुरागाईंले बुधबार उदयपुरमा नयाँ कमिटी गठन गरेको जानकारी दिए । उदयपुरमा गठन गरेको कमिटी ३९ सदस्यको छ । प्रदेश कार्यालय उद्घाटनपछि अन्य कमिटी गठन तीव्र गरेको उनले बताए । सोलुखुम्बु, ओखलढुंगा, झापा र उदयपुरमा नयाँ कमिटी गठन भएको उनले बताए ।

अन्य जिल्लामा भने पुरानै कमिटी यथावत छन् । पुराना कमिटीलाई पनि सक्रिय बनाउन थालिएको अध्यक्ष गुरागाईंले बताए । ‘कोरोना महामारीका कारण हामीलाई काम गर्न गाह्रो भयो,’ उनले भने, ‘अब वडा तहसम्म बिस्तार गर्छाैं ।’

कमिटीले जनताको बहुदलीय जनवादको विषयमा तल्लो तहसम्म प्रचार गर्नेछ । बुधबार उदयपुरको अध्यक्षमा चयन भएका दुर्गानारायण चौधरीले जिल्ला कमिटीले जनताको बहुदलीय जनवादको ब्याख्या गर्ने बताए ।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले यसअघि नेताका नाममा खुलेका प्रतिष्ठानको गतिविधि रोक्न निर्देशन दिएका छन् । तर प्रदेशमा गुटगत गतिविधि तीव्र बनेको हो । ओलीले जबजको मुद्दा ब्युँताउन निर्देशन दिएका कारण कमिटी गठन सुरु गरेको प्रदेश अध्यक्ष गुरागाईंले बताए ।