Rumpum Advertisement

‘स्वास्थ्य सेवासम्बन्धी धेरै कानून हुँदा प्रभावकारी काम गर्न सकिएन’

‘स्वास्थ्य सेवासम्बन्धी धेरै कानून हुँदा प्रभावकारी काम गर्न सकिएन’

काठमाडौं, १७ मङ्सिर । स्वास्थ्य सेवासम्बन्धी धेरैवटा कानून भएर प्रभावकारी काम गर्न नसकिएको सरोकारवालाहरूले बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा भएको छलफलमा सरोकारवालाहरूले धेरै कानून भएर आपसमा बाझिँदा काम गर्न अप्ठेरो भएको बताएका हुन् ।

बुधबारको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताए । यस्तै छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले समान उद्देश्य भएका कानून र एक आपसमा बाझिएका कानूनलाई एकीकृत र संशोधन गर्नुपर्ने बताए ।

समिति सभापति रामनारायण विडारीले कानूनको अपब्याख्या गरी बनाइएका नियमावली र निर्देशिकाले भ्रष्टाचारलाई बढाएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७५ सालमा बनेको जनस्वास्थ्य ऐनको आवश्यक मापदण्ड अहिलेसम्म नबनाएको भन्दै सांसदहरूले प्रश्नसमेत गरेका छन् । बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले जनस्वास्थ्य सेवा ऐनले तीन वटै तहका सरकारका बीचमा समन्वयात्मक काम गर्ने भनिएपनि मन्त्रालयले अहिलेसम्म मापदण्ड नबनाउँदा अन्योल बढेको बताए ।

मापदण्ड, निर्देशिका र कार्यविधि निर्माणमा मन्त्रालयले चासो नदेखाएको अधिकारीले बताए । समितिले नेपालको स्वास्थ्य सेवासम्बन्धी प्रयोगमा रहेका कानूनहरू र त्यसअन्तर्गत बनेका नियमावली, निर्देशिका आदेशहरूको अध्ययन गरिरहेको छ ।

सार्वजनिक सेवाको लागि बनेका ऐनअन्तर्गत बनेका नियमावलीको कारण जनताले सेवाभन्दा बढी दुःख पाएको भन्दै स्वास्थ्य सेवाअन्तर्गतका सरोकारवाला निकायका पदाधिकारीलाई समितिले छलफलमा बोलाएको हो ।