Rumpum Advertisement

बेलायतमा फाइजरको खोप प्रयोग गर्न अनुमति, केही दिनभित्र जोखिममा रहेकाले लिन सक्ने

Neuro
बेलायतमा फाइजरको खोप प्रयोग गर्न अनुमति, केही दिनभित्र जोखिममा रहेकाले लिन सक्ने

विराटनगर, १७ मङ्सिर । बेलायतले फाइजर कम्पनीले बनाएको कोभिडबिरुद्धको खोपको प्रयोगलाई अनुमति दिएको छ ।

बेलायती नियामक निकाय एमएचआरएका अनुसार फाइजर/बायोएन्टेकको यो खोपले कोभिड १९ बाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने देखिएको हुँदा खोपको व्यापक प्रयोगलाई अनुमति दिइएको हो । केही दिनभित्र नै धेरै जोखिममा रहेका मानिसलाई खोप दिन थालिने बताइएको छ ।

बेलायतले उक्त खोपको चार करोड डोज पहिले नै अर्डर गरिसकेको थियो । प्रत्येक व्यक्तिलाई खोपको दुई दोड दिइने छ । यसको मतलब अहिले दुई करोड व्यक्तिले खोप लिन सक्नेछन् । फाइजर कम्पनीले बनाएको खोप एक नयाँ प्रकारको एमआरएनए कोरोना खोप हो जसमा महामारीको समयमा भेटिएको कोरोना भाइरसको जेनेटिक कोडको सानो टुक्रा प्रयोग गरिएको छ ।

एमआरएनए खोप मानव शरीरमा इन्जेक्ट गरिने छ । कम्पनीका अनुसार जेनेटिक कोडको सानो टुक्राले शरीरको रोग प्रतिरोधात्मक शक्तिको विकास गर्न र कोभिडविरुद्ध शरीरलाई लड़्नका लागि तयार बनाउँछ । केवल १० महिनामा तयार भएको यो खोप संसारमा सबभन्दा द्रूत विकसित खोप हो । सामान्यतया यस्तो खोप तयार गर्न एक दशकसम्म लाग्न सक्छ ।

खोप लिए पनि व्यक्तिहरूले संक्रमण रोक्नका लागि पहिलादेखि गरिरहेको नियमको पालना गर्नुपर्ने विज्ञहरू जोड दिन्छन् ।