Rumpum Advertisement

लगातार पाँचौं जितको खोजीमा बार्सिलोना, मेस्सीसहित तीन खेलाडीलाई आराम

Neuro
लगातार पाँचौं जितको खोजीमा बार्सिलोना, मेस्सीसहित तीन खेलाडीलाई आराम

विराटनगर, १७ मङ्सिर । युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लब फेरेन्सभारोसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल फेरेन्सभारोसको मैदानमा हुनेछ ।

यस खेलमा बार्सिलोना लगातार पाँचौं जितको खोजीमा छ । उसले अघिल्ला चार खेलमै स्पष्ट जित निकालेको छ । समूह ‘जी’को शीर्ष स्थानमा रहेको बार्सिलोनासँग १२ अंक छ । बार्सिलोना यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

त्यसबाहेक सो समूहबाट इटालियन क्लब युभेन्टस अघिल्लो चरणमा प्रवेश गरेका छ ।

यता, बार्सिलोनाको आजको प्रतिद्वन्द्वी एफटीसी भने एक अंकका साथ चौथो स्थानमा छ ।

आजको खेलमा बार्सिलोनले आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । बार्सिलोनाले कप्तान लियोनल मेस्सी, मार्क–आन्द्रे स्टगेन र फिलिप कौटिन्होलाई नखेलाउने भएको हो ।

प्रमुख प्रशिक्षक रोनाल्ड कोइम्यानले तीनैजना प्रमुख खेलाडीलाई नखेलाउने निर्णय गरेका हुन् । अघिल्लो चरणको डाइनामो किभविरुद्धको खेलमा पनि मेस्सीलाई खेलाइएको थिएन । किभमा भएको खेलमा मिडफिल्डर फ्रेन्की डी जोङलाई पनि आराम दिइएको थियो ।

युभेन्टससँगको खेलका लागि पनि कोइम्यानले तीन खेलाडीलाई आराम दिएको हुनसक्ने आँकलन गरिएको छ । बार्सिलोना र युभेन्टसबीच क्याम्प नाउमा समूह चरणको अन्तिम खेल हुँदैछ ।

आजको खेलमा चोटका कारण अरु पनि खेलाडी अनुपस्थित हुनेछन् । जेरार्ड पिके, अन्सु फाती, सर्जी रोबर्टो र सामुएल उम्टिटी चोटग्रस्त छन् ।

पछिल्लो भेटमा बार्सिलोनाले फेरेन्सभारोसमाथि क्याप नोउमा ५–१ गोलान्तरको जित निकालेको थियो ।

सोही समूहअन्तर्गत आज हुने अर्को खेलमा युभेन्टसले युक्रेनी क्लब डायनामो किभसँग खेल्दैछ । राति १ः४५ बजे हुने यस खेल युभेन्टसको मैदानमा हुनेछ । दोस्रो स्थानको युभेन्टससँग ९ अंक छ । किभ भने एक अंकका साथ तेस्रो स्थानमा छ ।

पछिल्लो भेटमा युभेन्टसले किभलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।

प्रतिक्रिया

Comments are closed.