Rumpum Advertisement

हर्ट अट्याक र प्यानिक अट्याकबीचको भिन्नता

Neuro
हर्ट अट्याक र प्यानिक अट्याकबीचको भिन्नता

विराटनगर, १७ मङ्सिर । लक्षण सामान्यजस्तो देखिने कारण हर्ट अट्याक र प्यानिक अट्याक छुट्याउन एकदम कठिन हुन सक्छ ।

धेरै समय प्यानिक अट्याकबाट ग्रस्त व्यक्तिलाई समेत हर्ट अट्याक सोची अस्पताल लाने गरिन्छ बने हर्ट अट्याकलाई सामान्य प्यानिक अट्याक सोची बेवास्ता गर्ने गरिन्छ । रगत र अक्सिजनको आपूर्ति गर्ने कोरोनरी धमनी अवरुद्ध वा बाधा हुँदा हर्ट अट्याक हुने हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह प्रतिबन्ध गर्छ ।

केही हर्ट अट्याक तत्काल र घातक हुन सक्छ, जब कि अरू साना अट्याक जीवनशैली र आहारमा परिवर्तन गर्न चेतावनी संकेत हुन सक्छ । छाती भारी हुने वा दुखाइ, अपच, सास फेर्न गाह्रो हुने हर्ट अट्याकका केही लक्षण हुन् । अत्यधिक तनाव, चिन्ता र तीव्र डर जुन केही मिनेटभित्रमा नै चरम तहमा पुग्छ, आतंक आक्रमणका पछाडि केही कारणहरू हुन् ।

घरमा एक तनावपूर्ण घटना वा काममा समेत एक व्यक्तिलाई प्यानिक अट्याक हुन सक्छ । तर, कुनै बेला प्यानिक अट्याक हुँदा कुनै स्पष्ट संकेत देखिँदैन । छातीको दुखाइ, मुटुको चाल बढ्नु, पसिना आउने, मर्ने डर, रिँगटा लाग्नु प्यानिक अट्याकका केही संकेत हुन् । दुबै अट्याकका लक्षण समान छन्, तर, तिनीहरूको नतिजा एकअर्कादेखि पूर्णरूपमा भिन्न छन् ।

छाती दुखाइका लक्षण प्रायः दुवै अवस्थामा फरक हुन्छन् । प्यानिक अट्याकमा, छातीको बीचमा तीव्र र केहीले घोचेको जस्तो दुखाइ महसुस हुन्छ, जब कि हर्ट अट्याकमा हुने पीडा दबाब वा निचोरेको जस्तो हुन सक्छ । दुबै अट्याक अचानक चेतावनीको संकेतविना नै हुन्छन् । कहिलेकाहीँ, शारीरिक श्रमका कारण हार्ट अट्याक हुन सक्छ ।

प्यानिक अट्याक १० देखि १५ मिनेटसम्म रहन्छ र समयको साथ कम हुँदै जान्छ भने अर्कोतर्फ हार्ट अट्याकका लक्षण समयको साथ तीव्र हुँदै जान्छन् । वाकवाकी र बान्ता हृदयघातको अन्य लक्षण हुन सक्छ । बिरामीले खोकी, घ्यारघ्यार हुने र अत्यधिक पसिना आएको पनि अनुभव गर्न सक्छन् ।

प्यानिक अट्याक भएको मानिसले चिसो, तातो अनुभव गर्न सक्छ । केही कुराले घोचेको जस्तो, घाँटीमा केही अड्किएको जस्तो, सुख्खा मुख र कान बज्नु प्यानिक हट्याकका केही अन्य लक्षण हुन् । स्वास्थ्य अवस्थाको बारेमा निश्चित नभएको बेला कुनै पनि दुर्घटना हुनबाट जोगिनका लागि तत्काल चिकित्सकको सहायता लिनु उत्तम हुन्छ ।

यदि अचानक र गम्भीर छाती दुखाइ अनुभव भएमा वा दुईदेखि तीन मिनेटभन्दा लामो समयसम्म दुखाइ भएमा र छाती दुखाइ जो हात र बंगारामा सर्दै गएमा आपतकालीन चिकित्सा उपचार खोज्नु महत्वपूर्ण हुन्छ । हार्ट अट्याकको उपचारमा गरिएको कुनै पनि ढिलाइ प्राणघातक हुन सक्छ । प्यानिक अट्याक बारम्बार हुन्छ भने यसको उचित उपचार खोज्न चिकित्सकको परामर्श लिनुपर्ने हुन सक्छ ।