Rumpum Advertisement

गर्भावस्थामा देखिने मधुमेह, आमा र शिशुमा हुनसक्ने जोखिम यस्ता

गर्भावस्थामा देखिने मधुमेह, आमा र शिशुमा हुनसक्ने जोखिम यस्ता

विराटनगर, १७ मङ्सिर । मधुमेह नभएको महिलामा समेत गर्भावस्थाको समयमा मधुमेहको समस्या विकसित हुन सक्छ ।

प्लेसेन्टाद्वारा उत्पादित हर्मोनले शरीरलाई इन्सुलिनको प्रभावमा बढी प्रतिरोधी बनाउन सक्छ । गर्भवती हुनुअघि नै मधुमेह रोगी भएमा यसलाई पूर्व–गर्भधारण मधुमेह भनिन्छ र यो पछिसम्म रहन सक्छ । तर, गर्भावस्थामा हुने मधुमेह प्रसूती भएपछि हट्ने गर्छ । तर, यसले पछि मधुमेह हुने सम्भावनालाई उल्लेखनीयरुपमा वृद्धि गर्छ ।

इन्टरनेशनल डायबिटीज फेडरेशन (आईडीएफ) का अनुसार गर्भावस्थामा मधुमेह भएका आधा महिलाले ५ देखि १० वर्षभित्रमा टाइप २ मधुमेत विकास गर्न सक्छन् । मधुमेह रोगीमा अत्यधिक तिर्खा तथा भोक लाग्ने, पटक–पटक पिसाब लाग्ने, तौल परिवर्तन हुने र अत्यधिक थकान हुने हुन्छ । मधुमेह रोगी भएका धेरै महिलाले गम्भीर जटिलताविना स्वस्थ बच्चा बोक्ने तथा डेलिभर गर्ने गर्छन् ।

गर्भावस्थामा देखिने मधुमेहका कारण मूत्र, मूत्राशय तथा योनीको संक्रमण, उच्च रक्तचाप, मृगौला र कलेजोको समस्या, मधुमेहसम्बन्धी आँखा र मृगौलाको समस्या बिग्रँदै, नर्मल डेलिभरीमा समस्या जसकारण सिजेरियन डेलिभरी आवश्यक पर्न सक्ने गर्भावस्थामा आमालाई असर गर्न सक्ने जटिलताहरू हुन् । तर, गर्भावस्थामा मधुमेह भएको कारण आमालाई समस्या हुनुका साथै नवजात शिशुसमेत जोखिममा हुनेछन् ।

उच्च ग्लूकोज स्तर, विशेष गरी गर्भावस्थाको पहिलो चरणमा, गर्भमा रहेको शिशुमा जोखिम बढाउन सक्छ । गर्भपात, समय नपुग्दै बच्चा जन्मने, शिशुमा उच्च तौल, जन्मँदा कम ग्लूकोजको मात्रा, लामो समयसम्म जन्डिस, श्वासप्रश्वासमा समस्या, जन्मँदै शरिरको विभिन्न भाग (मुटु, रक्तवाहिका, मस्तिष्क, मेरुदण्ड, मिर्गौला, र पाचन पथ)मा समस्या वा मृत शिशुसमेत जन्मने जोखिम रहन्छ ।

मधुमेह रोगीले बच्चा जन्माउने निर्णय गरेदेखि नै स्वास्थ्यमा ध्यान दिन अझ महत्वपूर्ण हुन्छ । साथै, आफ्नो डाक्टरसँग नियमित परामर्श र जाँच गराइरहनु पर्ने हुन्छ ।