Rumpum Advertisement

दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग

Neuro
दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग

काठमाडौँ, १७ मङ्सिर । उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोवल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोवल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् । उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोवल खसेको बताए । यसरी दुई सरकारबाट कर असुली गर्नु कानुनविपरित भएको उनले बताए ।

यस्तै देशको आर्थिक विकासमा कतिपय कानुनहरु बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताए । त्यसका लागि कुन–कुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरे । यस्तै सरकारले निर्यातलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोवल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए ।

कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत् वा मौद्रिक नीतिमार्फत् सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थभन्त्री पौडेलले बताए ।