Rumpum Advertisement

भिटामिन ‘ए’को अभावमा आँखा र छालामा समस्या

भिटामिन ‘ए’को अभावमा आँखा र छालामा समस्या

विराटनगर, १७ मङ्सिर । दैनिक खाइने खानामा हुने भिटामिन र आवश्यक पोषण तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

भिटामिन शरीरका लागि आवश्यक पोषक तत्वहरूमध्ये एक हो । भिटामिन ‘ए’ एक फ्याट (घुलनशील) भिटामिन हो जुन उचित दृष्टि, प्रतिरक्षा प्रणाली, प्रजनन र छालाको स्वास्थ्यलगायत धेरै शारीरिक कार्यहरूका लागि महत्वपूर्ण हुन्छ । भिटामिन ‘ए’को अभाव हुनबाट बच्नका लागि मानिसले नियमित रूपमा सेवन गर्नुपर्ने हुन्छ ।

गर्भवती महिला, स्तनपान गराउने आमा, शिशु, बालबालिकामा तथा सिस्टिक फाइब्रोसिसको समस्या भएका तथा लामो समयसम्म भएको झाडापखालाका कारण भिटामिन एको कमी हुन सक्छ । भिटामिन ‘ए’को कमीका कारण आँखाका समस्या हुनु सबैभन्दा प्रख्यात समस्या हुन् । सुख्खा आँखा वा आँसु उत्पादन गर्न नसक्नु भिटामिन ‘ए’को कमी हुँदा देखिने पहिलो लक्षणमध्ये एक हो ।

भिटामिन ‘ए’को कमीले रातमा हुने अन्धोपन निम्त्याउन सक्छ । पर्याप्त भिटामिन ‘ए’ नपाउँदा पूर्णरुपमा अन्धोपन वा कोर्नियामा समस्या हुन सक्छ । भिटामिन ‘ए’ छाला कोषको निर्माण र मर्मतका लागि महत्वपूर्ण हुन्छ । भिटामिन ‘ए’को कमीका कारण छाला सुख्खा हुने, चिलाउनेलगायतका विभिन्न छालाका समस्या निम्त्याउन सक्छ ।

भिटामिन ‘ए’ले छालाको विकासलाई बढावा दिई इन्फ्लेमेसनसँग लड्छ, यसले एक्नेलाई रोक्न वा उपचार गर्नसमेत मद्दत गर्छ । विभिन्न अध्ययनका अनुसार भिटामिन ‘ए’को कमीका कारण एक्नेको समस्या हुन सक्छ । चोट वा शल्यक्रियापछि लागेको घाउ निको हुन ढिला भए कम भिटामिन ‘ए’को कारण हुन सक्छ । भिटामिन ‘ए’ पुरुष र महिला दुबैको प्रजनन र शिशुहरूमा उचित विकासका लागि आवश्यक हुन्छ ।

गर्भवती हुन समस्या भएमा भिटामिन ‘ए’को अभावसमेत एक कारण हुन सक्छ । भिटामिन ‘ए’को कमीले पुरुष र महिला दुबैमा बाँझोपन निम्त्याउन सक्छ । आमाबुबामा कम भिटामिन ‘ए’ले समेत गर्भपात वा बच्चामा समस्या हुन सक्छ । भिटामिन ‘ए’ मानव शरीरको उचित विकासका लागि आवश्यक हुने हुँदा पर्याप्त भिटामिन ‘ए’ नपाउने बच्चामा विकास ढिलो भइरहेको अनुभव हुन सक्छ । विशेषगरी घाँटी वा छातीमा देखिने लगातार संक्रमण भिटामिन ‘ए’को कमीको संकेत हुन सक्छ ।