birat ribon

निषेधित ‘रेमडेसिभिर’ विराटनगरमा खुलमखुला

उजुरी पर्खिंदै औषधि विभाग

Neuro
निषेधित ‘रेमडेसिभिर’ विराटनगरमा खुलमखुलाउजुरी पर्खिंदै औषधि विभाग

शिवहाङ राई/अङ्किता ताम्राकार

विराटनगर, १७ मङ्सिर । सरकारले विनाअनुमति बेच्न निषेध गरेको खोप ‘रेमडेसिभिर’ टङ्की सिनवारीस्थित जिया मेडिकल र सुप्रिया मेडिकल हलमा सजिलै पाइन्छ ।

cura insider

कोरोना सङ्क्रमित बिरामीका लागि नेपाल सरकारले क्लिनिकल ट्राइलका लागि स्वीकृति दिएको रेमडेसिभिर चिकित्सकको अनुमतिविना किनबेच गर्न पाइँदैन । तर यी दुई मेडिकलमा सात हजार दुई सय रुपैयाँ बुझाउनुभयो भने मेडिकल सञ्चालकले आधा घण्टा नबित्दै खोप (सुई) तपाईको हातमा थमाइदिन्छन् । यो खोप लिन न चिकित्सकको प्रेस्क्रिप्सन देखाउनुपर्छ न कुनै किसिमको अस्पतालको सिफारिस पुर्जी ।

विराटनगर कञ्चनबारीको सीताराम मेडिकलका सञ्चालक रेमडेसिभिरको नाम सुन्नबित्तिकै बिस्तारै बोल्न थाल्छन् । ‘किन, कसका लागि, चिकित्सकको सल्लाहमा हो ?’ आदि सोध्नैपर्ने प्रश्न नसोधी सीधै ‘कति भाइल चाहिन्छ ?’ भन्ने प्रश्न गर्छन् । ती मेडिकल सञ्चालकलाई ११ हजार रुपैयाँ र एक घण्टा समय दिनुपर्छ, उनले जहाँबाट, जसरी भए पनि रेमडेसिभिर उपलब्ध गराउँछन् ।

मुनाल–पथको शुभम् मेडिकल यो भित्री धन्दामा थप अग्रगामी छ । सो मेडिकलले दुईवटा भिन्दाभिन्दै कम्पनीका रेमडेसिभिर सहजै उपलब्ध गराउन सक्छ । तर अरू मेडिकलभन्दा झन्डै मूल्य दोब्बर मूल्य पर्छ । उही कम्पनीको औषधिका दाम अन्तभन्दा दोब्बर भन्ने यस मेडिकलका सञ्चालकले पनि अन्य मेडिकल सञ्चालकले जस्तै रेमडेसिभिर उपलब्ध गराउन आधादेखि एक घण्टाको समय माग्छन् ।

न्युरो अस्पताललाइनकाे सुजन मेडिकलमा पनि रेमडेसिभिर सजिलै पाइन्छ । त्यसका लागि आधा रकम अग्रिम भुक्तानी गरेपछि एक घण्टा पर्खिनुपर्छ । सञ्चालकका अनुसार उनीहरूको पसलमा सिप्ला र हेट्रो कम्पनीका रेमडेसिभिर उपलब्ध छन् ।

विराटनगर महानगरमा कोरोना सङ्क्रमितहरूको उपचार भइरहेका अस्पतालअघि रेमडेसिभिर विनाअनुमति सजिलै पाइनुले सङ्क्रमित र तिनका आफन्तको भावनाको फाइदा उठाउँदै यहाँका मेडिकल पसलहरूको निषेधित औषधि बिक्रीको धन्दा तथा सञ्जाल सञ्चालन गरिरहेको प्रष्ट हुन्छ ।

चिकित्सकका अनुसार रेमडेसिभिर कोरोनासँग सम्बन्धित नभई हेपाटाइटिस् रोगविरुद्ध प्रयोग गरिने खोप हो, जसको प्रयोग ईबोला भाइरसविरुद्ध पनि गरिएको थियो । अहिलेसम्म कुनै निश्चित रोगविरुद्धको खोप भनी पुष्टि नभएको रेमडेसिभिर ‘इन्भेसटिगेटिभ ड्रग्स’ (अनुसन्धानमा रहेको औषधि)का रूपमा विभिन्न रोगविरुद्ध परीक्षण हुनेगर्छ ।

कोरोना सङ्क्रमण विश्वमा फैलिएसँगै अनुसन्धानकर्ता र वैज्ञानिकहरूले रेमडेसिभिरलाई पुनः ‘इन्भेसटिगेटिभ ड्रग्स’का रूपमा प्रयोगमा ल्याएका छन् । अनुसन्धानकै क्रममा सेभर एक्युट रेसपिरेटरी सिन्ड्रोम (सार्स) र मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम (मार्स)विरुद्ध यसले काम गरेको अनुसन्धानको निष्कर्ष निस्कियो ।

तर उक्त अनुसन्धान टेस्ट–ट्युब र जनावरमा मात्र गरिएकाले मानिसमा यसको प्रभाव कस्तो पर्छ भन्ने थाहा नभएको चिकित्सकहरू बताउँछन् । यसलाई अमेरिकी फुड एन्ड ड्रग एडमिनिसट्रेसन (एफडिए)ले कोरोनाको खोपको रूपमा नभई अनुसन्धानमूलक क्लिनिकल ट्राइलका रूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

२०१९ मेमा अमेरिकामा सघन उपचाररत कोरोना सङ्क्रमितहरूमा पहिलो पटक यसको प्रयोग गरिएको थियो । अमेरिकासँगै अन्य देशले पनि क्लिनिकल ट्राइलमा सहभागी जनाउन थालेपछि नेपालमा यसको अनाधिकृत प्रयोग हुन थालेको हो । सरकारले यसको अनाधिकृत प्रयोग रोक्न २०७७ साउन २६ गते रेमडेसिभिर विनाअनुमति प्रयोग गर्न नमिल्ने सूचना जारी गरेको थियो ।

त्यसयता बङ्गलादेश सरकारको पाँच हजार भाइल सहयोग र आयात अनुमति पाएका तीन कम्पनीले गरी नेपालमा १५ हजारभन्दा बढी माइल रेमडेसिभिर भित्रिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र औषधि व्यवस्था विभागका अनुसार कोभिड अस्पतालबाहेक अन्य कुनै पनि अस्पताल वा मेडिकलले रेमडेसिभिर बिक्री–वितरण गर्न पाउँदैनन् । रेमडेसिभिरको प्रयोग सङ्क्रमितको आफन्तको अनुमतिमा गर्नुपर्ने हुन्छ ।

प्रयोगमा आएका रेमडेसिभिरका हरेक भाइलको रेकर्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)मा पठाउनु पर्ने नियम छ । तर विराटनगरका मेडिकल पसलहरूमा पाइने रेमडेसिभिर कसरी आउँछन् र तीनको प्रयोगपछि सो भाइलको रेकर्ड एनएचआरसी पुग्छ कि पुग्दैन भन्ने प्रश्न उब्जिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट असोजमा जारी सूचनाअनुसार नेपालमा सिप्ला, माइलन र हेट्रो गरी तीन कम्पनीले मात्रै रेमडेसिभिर आयात र बिक्री–वितरण गर्न पाउँछन् । औषधि व्यवस्था विभाग कार्यालय विराटनगरका प्रमुख सञ्जिव शर्मा कट्टेलका अनुसार सरकारी ‘प्रोटोकल’ (मापदन्ड) रेमडेसिभिर खुला किनबेच गर्न पाइँदैन ।

‘सम्बन्धित कोभिड अस्पतालले यत्ति भाइल चाहिने हो भनेर माग गरेपछि केन्द्रले सोहअनुसार औषधि पठाउने हो,’ प्रमुख कट्टेलले भने, ‘गैरकानुनी रूपमा कतै बिक्री–वितरण गरिएको भए कारबाही हुन्छ ।’

‘प्रमाण जुटाउनै गाह्रो’

औषधि व्यवस्था विभाग कार्यालय विराटनगरका प्रमुख कट्टेल अहिलेसम्म बाहिर मेडिकलमा रेमडेसिभिर बिक्री हुन्छ भन्ने उजुरी नआएकाले कुनै पनि कारबाही गर्न नसकिएको प्रष्ट्याउँछन् । उनले भने, ‘कार्यालयमा हालसम्म रेमडेसिभिर सम्बन्धित कुनै पनि उजुरी आएको छैन, उजुरी आए हामी तत्काल एक्सन लिन तयार छौँ ।’

उजुरी नआए पनि आफूहरूले विराटनगरका कोभिड अस्पताल क्षेत्रमा सञ्चालित मेडिकलहरूमा अनुगमन गरेको कट्टेलले बताए । अनुगमन गरे पनि प्रमाण जुटाउन गाह्रो भएको उनको भनाइ छ । ‘पहिलो कुरा त्यस्तो खोप देखाएर बेच्दैनन्, मेडिकलबाहिर कतै स्टोर गरेर राखेका छन् कि भन्ने हाम्रो अनुमान हो । प्रमाण नै नभेटिएकाले कारबाही गर्न सकिन्न,’ प्रमुख कट्टेलले भने, ‘तर कोही प्रमाणसहित हामीकहाँ आएमा गैरकानुनी तरिकाले रेमडेसिभिर बेच्ने मेडिकललाई कारबाही गर्छौँ ।’

कारबाही नगर्न आफन्तको अनुरोध

रेमडेसिभिर बेच्ने मेडिकलविरुद्ध प्रमाण जुटाउन औषधि व्यवस्था विभागलाई सकस परिरहेको बेला सङ्क्रमितका आफन्तले भने औषधि बेच्ने मेडिकललाई कारबाही नभइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ । अनुगमनका क्रममा सङ्क्रमितका आफन्तहरूले यस्तो अनुरोध गरेको औषधि व्यवस्था विभाग विराटनगर प्रमुख कट्टेल बताउँछन् ।

‘कोरोनाविरुद्धको खोप नआइसकेकाले मानिसहरूले रेमडेसिभिरलाई नै विकल्पको रूपमा बुझेकाले कारबाही नभइदिए हुन्थ्यो भन्ने प्रतिक्रिया आयो,’ कार्यालय प्रमुख कट्टेल भन्छन्, ‘सङ्क्रमित र आफन्तको अनुरोध भए पनि प्रमाण भेटिए हामी कुनै पनि हालतमा त्यस्ता मेडिकललाई कारबाही गर्छौँ ।’

प्रभावकारीता लगभग शून्य

खोप अनुसन्धानमा लागेका कम्पनीहरूको सूचनालाई आधार मान्ने हो भने कोरोनाविरुद्धको खोप लगाउन मानिसले २०२१ सम्म कुर्नुको विकल्प छैन ।

रुसी, बेलायती र अमेरिकी खोप निर्माताहरूले आफूले निर्माण गरेको खोप मानिसमा लगाउन सकिने र यसको प्रभावकारीता ९० प्रतिशतभन्दा ज्यादा भएको बताइरहँदा नेपालमा भने सङ्क्रमितका आफन्तहरूले रेमडेसिभिर नै कोरोनाविरुद्धको विकल्प भन्दै भित्रभित्रै प्रयोग गरिरहेका छन् ।

विराट मेडिकल कलेजका वरिष्ठ चिकित्सक पुरु कोइराला रेमडेसिभिरको प्रभावकारीता लगभग शून्य भएको भए पनि सङ्क्रमितका आफन्तले ‘प्रयोग गरिदिनु’ भन्ने गरेको अनुभव सुनाए ।

‘खोप नआइसकेकाले मानिसलाई रेमडेसिभिर नै भए पनि लगाएर सङ्क्रमित बचाउन पाए हुन्थ्यो भएको छ तर दुःखद कुरा यसको प्रभावकारीता शून्यजस्तै छ,’ चिकित्सक कोइराला भन्छन्, ‘विश्व स्वास्थ्य सङ्गठन र क्लिनिकल ट्राइलमा सहभागी अन्य देशका रिपोर्टमा यसको प्रभावकारीता शून्य भएको पाइन्छ, नेपालमा पनि रेमडेसिभिर प्रयोग गरेर कोरोना जितेका मानिस छैनन् भन्दा नि हुन्छ ।’

jackson ribon