विराटनगर, १७ मङ्सिर । युरोपियन च्याम्यिन्स लिगमा साविकको विजेता बार्यन म्युनिख बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा बायर्न एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
एथ्लेटिकोको मैदानमा घरेलु टोलीले खेल सकिन चार मिनेट बाँकी रहुन्जेलसम्म अग्रता बनाएको थियो । तर, खेलको ८६औं मिनेटमा बायर्नले पेनाल्टी पाएको थियो, जसमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सम्भावित हारबाट बचाए ।
त्यसअघि खेलको २६औं मिनेटमा जाओ फेलिक्सले गोल गर्दै एथ्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै समूह ‘ए’मा अपराजित रहेको बायर्नले पाँच खेलबाट १३ अंक जोडेको छ । शीर्ष स्थानको बायर्नले यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।

यता, एथ्लेटिकोलाई भने यस खेलबाट दबाब सिर्जना भएको छ । अब एथ्लेटिकोले अन्तिम खेलमा आरबी लेइपिजमाथि जित निकालेमा मात्र अघिल्लो चरणमा स्थान बनाउनेछ ।
दोस्रो स्थानको एथ्लेटिकोले ६ अंक जोडेको छ ।
अघिल्लो भेटमा बायर्नले एथ्लेटिकोमाथि ४–० गोलको शानदार जित निकालेको थियो ।
सोही समूहको अर्को खेलमा लोकोमोटिभ मस्कोले साल्जबर्गसँग ३–१ गोलको पराजय ब्यहोरेको छ । साल्जबर्ग ४ अंकसहित तेस्रो स्थानमा छ भने मस्को ३ अंकका साथ चौथो स्थानमा पुगेको छ ।