Rumpum Advertisement

अमेरिकाको निर्वाचनमा धाँधली भएको प्रमाण भेटिएन

अमेरिकाको निर्वाचनमा धाँधली भएको प्रमाण भेटिएन

विराटनगर, १७ मंसिर । अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

आफू पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले नतिजा खोस्न निर्वाचनमा धाँधली भएको प्रमाणविहीन आरोप लगाउँदै हार स्वीकार गर्न नमानिरहेका बेला अधिकारीहरुबाट यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले चुनावमा धाँधली भए नभएको हेर्नका लागि न्याय विभागलाई निर्देशन दिएका थिए ।

सबै कुराको छानबिन गरिएपछि चुनावमा कुनै पनि धाँधली भएको नपाइएको हो । तर न्याय विभागले ट्रम्पको आरोप वा दाबीलाई सत्य सावित गर्ने कुनै पनि प्रमाण फेला नपारेको बताइएको छ ।

महान्यायाधीवक्ता बारले अहिलेसम्म चुनावको नतिजा भिन्न अध्ययन गर्दा कुने पनि धाँधलीको प्रमाण फेला पर्न नसकेको बताए । महान्यायाधीवक्ताको यस्तो भनाइ आएपछि हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पका लागि ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियानले विभिन्न राज्यमा दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा खारेज भएका छन् वा उनीहरुको विपक्षमा फैसला भएको छ ।

बारले धाँधली नभएका कारण राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितलाई औपचारिकता प्रदान गर्नुपर्ने आशय व्यक्त गरेका छन् । बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० मध्ये ३०६ इलेक्टोरल कलेज मत पाउने निश्चित भएको छ । पराजित भएका ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ । बाइडेन ट्रम्प भन्दा कम्तिमा ६२ लाख मतले अघि छन् ।

महान्यायाधीवक्ता विलियम बारले कुनै पनि प्रमाण नभेटिएको जानकारीसहितको वक्तव्य जारी गरेपछि मंगलबार ट्रम्पले लगातार ट्वीट गरेर प्रमाण बिना चुनावमा धाँधली भएको पुनः आरोप लगाए । ट्रम्पका शीर्ष सहयोगी रहँदै आएका बारले अहिलेसम्म कुनै पनि ठूलो स्तरको धाँधली वा अपारदर्शिता नदेखिएको बताएको समाचार संस्था एपीले जनाएको छ ।

न्याय विभाग र आन्तरिक सुरक्षा विभागले ट्रम्पले लगाउँदै आएका आरोपहरुबारे छानबिन गरेको र अहिलेसम्म कुनै प्रमाण फेला नपारेको बारले बताएका हुन् ।