Rumpum Advertisement

सिटीलाई बराबरीमा रोक्दै पोर्टो नकआउटमा

सिटीलाई बराबरीमा रोक्दै पोर्टो नकआउटमा

विराटनगर, १७ मङ्सिर । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगलको पोर्टोले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा सिटी र पोर्टोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पोर्टोको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ग्राबियल जेससले गोल गरे पनि उनको गोल अफसाइड भएका कारण मान्य भएन ।

यस बराबरीसँगै पोर्टोले अघिल्लो चरणमा स्थान बनायो । समूह ‘सी’को दोस्रो स्थानको पोर्टोले १० अंक जोड्दै एक खेल अगाडि नै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अपराजित रहेको सिटीले भने अगाडि नै नकआउट चरणमा स्थान बनाइसकेको छ । ऊ १३ अंकसहित शीर्ष स्थानमा छ ।

सोही समूहको अर्को खेलमा ओलम्पियाकसमाथि मार्सेलीले २–१ गोलको जित निकाल्यो । जितसँगै मार्सेलीले ३ अंक जोड्यो । ऊ अंक तालिकाको पुछारमा छ । समान ३ अंक भएको ओलम्पियाकस तेस्रो स्थानमा छ ।

अघिल्लो भेटमा मार्सेली ओलम्पियाकससँग १–० गोलले पराजित भएको थियो ।