Rumpum Advertisement

प्रदेश १ मा मल पर्याप्त, नयाँ बिक्रेता नियुक्ती गरेर मल वितरण गरिँदै

Neuro
प्रदेश १ मा मल पर्याप्त, नयाँ बिक्रेता नियुक्ती गरेर मल वितरण गरिँदै

विराटनगर, १७ मंसिर । गहुँ खेतीका लागि प्रदेश १ मा किसानलाई चाहिने मल पर्याप्त रुपमा मौज्दात रहेको छ ।

संघीय सरकाले गरेको नयाँ व्यवास्था अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय तहको सिफारिसमा नयाँ विक्रेता नियुक्त गर्दै मौज्दात रासायनिक मल वितरण गर्दै आएको जनाएको छ। कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा युरिया ५ हजार ७ सय ५ मेट्रिक टन, डीएपी ३ हजार २ सय ७३ दशमलव ५ मेट्रिक टन र पोटास भने दुई हजार ५ सय दशमलव ५ मेट्रिक टन मौज्दात रहेको छ ।

युरिया भारतबाट आउने क्रम जारी रहेको प्रादेशिक कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिए । गौतमका अनुसार प्रत्येक वर्ष यस कम्पनीका पुराना डिलरमार्फत हँुदै आएको मल वितरणको संरचना खारेज गर्ने निर्णय संघीय सरकारको मन्त्रिपरिषदले गरेको छ । संघीय सरकारको मन्त्रिपरिषदको असार ८ गतेको निर्णय अनुसार पुराना संरचना खारेज गर्दै स्थानीय तहको सिफारिसमा निश्चित कार्यक्षेत्र तोकेर मल बिक्रेता नियुक्त गरेर किसानको लागि चाहिने आवश्यक मल वितरण गर्दै आएको उनले जानकारी दिए ।

भदौ १ गतेदेखि कात्तिक मसान्तसम्म पुरानै संरचनामा रसायनिक मल वितरण गर्दै आएको कम्पनीको प्रादेशिक कार्यालय विराटनगरले मंसिर १ गतेदेखि स्थानीय तहको सिफारिसमा विक्रेतालाई मल दिँदै आएको छ । मल वितरण गर्ने पुरानो संरचनाले किसानलाई मल पाउने सहकारीमा दौडधुपको हैरानी व्यहोर्नु परेको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले कोरोना भाइरसको संक्रमण प्रकोप बढेकाले स्थानीय तहले सिफारिस गर्न नसकेको जनाएको छ । विराटनगर महानगरपालिकासहित अन्य स्थानीय तहले हालसम्म रासायनिक मलको बिक्रेताको सिफारिस गरेको छैन । अन्न उत्पादनको उर्वर भूमि मानिने पूर्वमा धान र गहुँ खेतीको बेला किसानलाई चाहिने आवश्यक रासायनिक मल सहज तरिकाले उपलब्ध हुन नसक्दा उत्पादनमा समेत कमी आउने गरेको छ। उद्घोष दैनिकमा समाचार छ