Rumpum Advertisement

देशैभर विमानस्थल विस्तार र स्तरोन्नति

Neuro
देशैभर विमानस्थल विस्तार र स्तरोन्नति

विराटनगर, १७ मंसिर । सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो । यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए ।

पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महत्वपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उनले स्पष्ट पारे । नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताए । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उनले प्रष्ट पारे ।

यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उनले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताए । सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उनले जानकारी दिए । मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ । गोरखापत्र दैनिकमा समाचार छ