Rumpum Advertisement

नेकपा सचिवालय बैठक भोलि पुनः बस्ने

Neuro
नेकपा सचिवालय बैठक भोलि पुनः बस्ने

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि पुनः बस्ने भएको छ । भोलि दिउँसो १ बजे पुनः सचिवालय बैठक बस्ने भएकाे हो ।

शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ–आफ्नातर्फबाट यसअघि प्रस्तुत प्रतिवेदन र पार्टीभित्रका संकटबारे धारणा राखेका थिए ।

यसैगरी दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर १८ मङ्सिरमा हुने स्थायी कमिटी र २५ मंसिरमा हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलग रूपमा लाने भन्नेबारेमा नेताहरूबीच छलफल भएको छ ।

ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्षले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा आजको बैठक केन्द्रित रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।

बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधानका र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ,’ उनले भने ।

उनले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताए । यसअघि नै मंसिर १८ गतेका लागि बैठकको मिति निर्धारण भएकाले पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनले बताए ।