Rumpum Advertisement

‘खलनायक २’ मा राजेश, विराज र निखिल नदोहोरिने

‘खलनायक २’ मा राजेश, विराज र निखिल नदोहोरिने

विराटनगर, १६ मङ्सिर । निर्माता रोज राणा १२ वर्षअगाडि निर्माण भएको सुपरहिट फिल्म ‘खलनायक’को सिक्वेल निर्माणको तयारीमा छन् ।

सुपरहिट सिनेमा खलनायकका कथा तथा पटकथाकार मौनता श्रेष्ठले नै ’खलनायक २’ को स्कृप्ट लेखेकी हुन् । भदौबाट चलचित्रको छायांकन सुरु गरिने भनिए पनि कोरोना कहरबीच फिल्म छायांकन गर्न सम्भब भएन । अब स्थिति सामान्य हुँदै गइरहेको छ, निर्माण टिमका अनुसार स्थिति सामान्य बन्यो भने माघबाट फिल्मको छायांकन सुरु गरिने छ ।

निर्माता राणाले ‘खलनायक २’ बिल्कुलै नयाँ कथामा निर्माण हुने बताएका छन् । सिनेमालाई ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशन गर्नेछन् । फिल्मको खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् ।

‘खलनायक’मा महानायक राजेश हमाल, एक्सन स्टार निखिल उप्रेती, विराज भट्ट र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको थियो । तर ‘खलनायक २’ मा पुराना कलाकार कोही नदोहोरिने भएका छन् ।

निर्माण टिमका अनुसार, ‘खलनायक २’ का लागि अहिलेका चल्तीका केही अभिनेता/अभिनेत्रीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ । कलाकारको टुंगो लागेसँगै फिल्मको छायांकन सुरु गरिने छ ।