विराटनगर, १६ मङ्सिर । जुवा मुद्दामा अदालतबाट दोषी ठहर भएका नौजना छ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङबाट दुई सय रुपैयाँ जरिवानाको फैसला भएका विराटनगरका नौजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत जुवा मुद्दामा अदालतबाट फैसला भई फरार रहेका विराटनगर महानगरपालिका–९ घोघापुलका ६० वर्षीय नविरज खाँ, ४४ वर्षीय मजमिल हुसेन, ६४ वर्षीय रजाक भन्ने राजु खाँ, ६४ वर्षीय मुन्ना कुरेशी पक्राउ परेका हुन् ।
सोही मुद्दामा फरार रहेका विराटनगर–९ ट्राफिक चोकका ४१ वर्षीय रामबहादुर गुरूङ ४१ वर्षीय लक्ष्मणबहादुर गुरूङ, ३० वर्षीय सुमित साह, विराटनगर–१० शान्ति चोक बस्ने ३२ वर्षीय विजय श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ जेठ २१ गते जनही दुई सय रुपैयाँ जरिवाना तोकेको थियो ।
त्यस्तै विराटनगर–७ हस्पिटल चोक बस्ने ३५ वर्षीय हंशराज जैन पनि पक्राउ परेका छन् । जुवा मुद्दामा जैनलाई २०७० वैशाख १२ गतेको फैसलाले जुवा मुद्दामा २०० रूपैयाँ जरिवानाको फैसला भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ९ जनालाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत मोरङ बुझाइएको प्रहरीले जनाएको छ ।