birat ribon

विश्व एड्स दिवस : पहिलो चरणमा देखिन्छन् तीन लक्षण, संक्रमणको मुख्य कारण असुरक्षित यौन

जथाभावी यौन सम्पर्क राख्दा मानिस यो भाइरसको सिकार हुने गर्दछन्

Neuro
विश्व एड्स दिवस : पहिलो चरणमा देखिन्छन् तीन लक्षण, संक्रमणको मुख्य कारण असुरक्षित यौनजथाभावी यौन सम्पर्क राख्दा मानिस यो भाइरसको सिकार हुने गर्दछन्
डा. सञ्जीव यादव

आज विश्व एड्स दिवस । सन् १९८८ देखि १ डिसेम्बरका दिन प्रत्येक वर्ष विश्व एड्स दिवस मनाउँदै आइएको छ ।

कोरोना भाइरसको महामारीकाबीच एचआईभी भाइरसविरुद्ध ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ ३३ औं एड्स दिवस मनाइँदै छ ।

cura insider

विश्व एड्स दिवसले सरकारलाई भाइरस नियन्त्रणमा पुनः जिम्मेवार बनाउन मद्दत गर्नेछ । सार्वसाधारणलाई पनि सतर्क रहन झक्झकाउने छ ।

एड्स दिवसमा एचआईभी संक्रमित मानिसको समर्थन र संक्रमणको कारण मृत्यु भएकाको सम्झनामा रातो रिबन लगाउने गरिन्छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा २९ हजार पाँच सय तीन एचआईभी संक्रमित छन् । तीमध्ये पुरुषको संख्या १७ हजार पाँच सय ८७ र महिलाको संख्या ११ हजार नौ सय १६ रहेको छ ।

नेपालमा प्रत्येक पाँचमध्ये चारजनामा अर्थात् ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको देखिन्छ ।

एचआईभी र एड्स फरक विषय हुन् । एचआईभी एक भाइरस हो । जसका कारण एड्सको अवस्थामा पुर्‍याउने हुन्छ । यो असुरक्षित यौन सम्पर्कका कारण बढी हुने गर्छ ।

जथाभावी यौन सम्पर्क राख्दा मानिस यो भाइरसको सिकार हुने गर्दछन् । एचआईभी संक्रमितसँग हाँस्दा, बोल्दा, जुठो खाँदा र एउटै शौचालयको प्रयोग गर्दा भने एचआईभी सर्छ भन्ने केवल भ्रम हो । तर, यो भाइरस संक्रमित व्यक्तिबाट स्वस्थ मानिसमा यौन सम्पर्कको माध्यमबाट मात्र नभई निर्मलीकरण नगरिएका सुई तथा सिरिन्जको प्रयोग वा साझा प्रयोगबाट, एचआईभी संक्रमितको रगत, रगतबाट बनेको पदार्थ तथा शरीरका अङ्ग प्रत्यारोपण गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्छ ।

एचआईभी भाइरसको संक्रमण भएको सुरुवातको दुईदेखि तीन हप्तापछि लक्षणहरू देखा पर्न थाल्छ । एड्सका लक्षण तीन चरणमा देखा पर्ने गर्छ ।

एचआईभीबाट संक्रमण भएपछि पहिलो चरणमा ज्वरो आउने, टाउको दुख्ने, थकान, घाँटी दुखाइ, लिम्फ नोड्स सुन्निने, नचिलाउने खालको रातो दागहरू देखा पर्छ ।

दोस्रो चरण अर्थात् क्लिनिकल लेटेन्सी लक्षण । यस चरणमा धेरैजसो लक्षण देखापर्दैन । रोग प्रतिरोधात्मक कोषहरुको संख्या (सिडी ४ काउन्ट) घट्ने हुन्छ जसले अधिक संक्रमणको खतरा बढाउने हुन्छ ।

तेस्रो चरण अर्थात् एचआईभी संक्रमणको उन्नत चरणमा रोग प्रतिरोधात्मक कोषहरूको संख्या (सिडी ४ काउन्ट) दुई सयभन्दा कम हुने र प्रतिरक्षा प्रणाली नराम्ररी बिग्रिन्छ । जसले गर्दा संक्रमणको खतरालाई झन् बढाउँछ ।

आजको दिनसम्म यसलाई पूर्णरूपमा निको पार्ने कुनै औषधिको विकास भएको छैन । तर, हाल प्रयोग हुँदै गरेको एड्सको उपचारका लागि एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छ ।

एचआईभीको संक्रमणबाट बच्ने पहिलो उपाय भनेकै असुरक्षित यौनबाट टाढा रहनु हो ।

अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए–नभएको कुरामा विशेष ध्यान पुर्‍याउने, रगत दिँदा सो रगत संक्रमण भए–नभएको पक्का गर्ने, प्रयोग भएको सुई साझा नगर्ने, संक्रमित आमालाई गर्भधारण गर्नु हुँदैन भनेर सम्झाउने, उच्च जोखिम समूहहरूका लागि नियमित परीक्षण गराउने, यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने तथा प्रोपर आइसोलेसन र संक्रमित मानिसको उपचारमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

(गोल्डेन अस्पताल विराटनगरका मेडिकल अफिसर यादवसँग गरिएको कुराकानीमा आधारित)

jackson ribon