birat ribon

विराटनगरका विद्यालय खुल्ने ढाँचा अझै अनिर्णित

Neuro
विराटनगरका विद्यालय खुल्ने ढाँचा अझै अनिर्णित

विराटनगर, १६ मङ्सिर । शिक्षा मन्त्रालयद्वारा सार्वजनिक विद्यालय पुनः सञ्चालन निर्देशिकामा प्रस्तावित सातवटा ढाँचा (मोडालिटी)मध्ये कुन उपयुक्त हुन्छ भन्नेमा विराटनगर महानगरपालिका अझै टुङ्गोमा पुगेको छैन । तथापि आगामी सातादेखि महानगरभित्रका विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको महानगरपालिका कार्यालयले जनाएको छ ।

महानगरको नगर शिक्षा समितिबाट पास गराएर विद्यालय सञ्चालनको तयारी भइरहेको नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । ‘कुन मोडालिटीमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा निर्णय भइसकेको छैन,’ खतिवडाले भने, ‘मोडल टुङ्गो लगाएर एक सातापछिबाट विद्यालय खुला गर्ने योजनामा हामी छौँ ।’

cura insider

मोरङको दक्षिणी क्षेत्रका रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका, कटहरी, धनपालथान र जहदा गाउँपालिकामा सोमबारबाट विद्यालय पुनः सञ्चालन गरेपछि महानगरपालिकालाई दबाब परेको छ । दोस्रो ढाँचाअनुसार पुनः सञ्चालित उल्लिखित स्थानीय तहका विद्यालयले विद्यार्थी–शिक्षकलाई अनिवार्य साबुनपानीले हात धुने, थर्मल गन प्रयोग गरी अनिवार्य तापक्रम नाप्ने र प्रत्येक साता कक्षाकोठा डिसइन्फेक्ट (निर्मलीकरण)गर्ने नियम बनाएका छन् ।

कोरोना महामारीका कारण २०७६ चैत ११ यता विराटनगर महानगरका ५६ सामुदायिक, एक सय पाँच संस्थागत विद्यालय र २० वटा धार्मिक विद्यालय बन्द रहेका छन् ।

विद्यालय पुनः सञ्चालन निर्देशिकाअनुसार पहिलो ढाँचामा सबै कक्षाका विद्यार्थीलाई एकै समयमा बोलाएर पूर्ववत् विद्यालय सञ्चालन गर्ने उल्लेख छ । दोस्रो र तेस्रो ढाँचामा अलग–अलग समय (सिफ्ट)मा अलग–अलग तह वा कक्षा सञ्चालन गर्ने तथा विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि/घन्टी छोट्याउने प्रस्ताव गरिएको छ ।

जोखिम र सहजतालाई हेरी तल्लो कक्षालाई पहिले वा माथिल्लो कक्षालाई पहिले सुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी कक्षा पालैपालो सञ्चालन गर्ने प्रस्तावित चौथो र पाँचौँ ढाँचा हो । कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने तथा हप्तामा केही दिन वा दिनमा केही घण्टा विद्यालय सञ्चालन गर्ने छैठौँ र सातौँ ढाँचा प्रस्तावित छ ।

विराटनगरका सबै विद्यालय एउटै ढाँचामा नभई अलग–अलग ढाँचामा सञ्चालन गर्नेबारे छलफल भइरहेको नगर शिक्षा अधिकारी खतिवडाले बताए । सबै विद्यालय एउटै ढाँचमा सञ्चालन गर्दा बढी जोखिम तथा व्यवस्थापन गर्न गाह्रो हुने उनको भनाइ छ । ‘विद्यालयको भौतिक तथा मानवीय क्षमतासहित विद्यार्थी सङ्ख्याको आधारमा अलग–अलग मोडलमा विद्यालय सञ्चालन गर्ने सोच छ,’ उनले भने ।

कोरोनाको बढी जोखिम रहेका वडाका विद्यालय सञ्चालनभन्दा कम जोखिम रहेका क्षेत्रका विद्यालयले पुनः सञ्चालनमा प्राथमिकता पाउने महानगरपालिकाले जनाएको छ । विराटनगरका १८ र १९ वडा कम जोखिमपूर्ण मानिएका छन् ।

jackson ribon