Rumpum Advertisement

प्रत्येक दिन दौडिनु स्वास्थ्यका लागि हानिकारक हुनसक्ने

प्रत्येक दिन दौडिनु स्वास्थ्यका लागि हानिकारक हुनसक्ने

विराटनगर, १५ मंसिर । दौडनु वा कुद्नु व्यायाम तथा शारीरिक गतिविधिका लागि लोकप्रिय तरिकामध्ये एक हुन् । यसलाई दैनिक व्यायाम तालिकामा समावेश गर्न सजिलो हुनुका साथै शारीरिक र मानसिक स्वास्थ्य लाभ पनि धेरै छन् ।

यसले टाइप २ मधुमेह, उच्च रक्तचाप र हृदय समस्या जस्ता दीर्घकालीन रोगको जोखिम कम गर्न मद्दत गर्छ । तर, कुनै पनि कुरा अत्यधिक गरेमा स्वास्थ्यको लागि हानिकारक हुनसक्छ, चाहे त्यो व्यायाम होस् वा स्वस्थ खाना ।

धेरै र प्रत्येक दिन कुद्नुका फाइदाभन्दा वेफाइदा धेरै छन्, जुन हामीमध्ये धेरैलाई थाहा छैन । प्रत्येक दिन दौडने गर्दा शरीरले एउटै मांसपेशीहरूमा दबाब दिन्छ, जसले शरीरमा कोर्टिसोल (तनाव हार्मोन) को स्तर बढाउन सक्छ ।

समयको साथ यसले सुन्निने तथा मांसपेशी च्यात्तिने समस्या निम्त्याउन सक्छ । आराम नपाएमा मांसपेशी निको हुन पाउँदैन जसले चोटपटकको जोखिमलाई बढाउनुका साथै समग्र स्वास्थ्य र प्रदर्शनमा असर पार्छ ।

शरीरमा टिशू मर्मत गर्न र मांसपेशीहरूलाई आराम दिन एक हप्तामा तीनदेखि पाँच दिनको लागि मात्र दौडनु पर्छ । अधिकतम स्वास्थ्य लाभका लागि ३० देखि ४५ मिनेट दौडिनु पर्छ । हल्का शरीरलाई वार्म अप गरी दौडिन सुरु गर्नुपर्छ ।

सुरु गर्नेबित्तिकै अधिकतम गतिमा दौडिनुभन्दा पनि विस्तारै गति बढाउनु पर्छ । प्रत्येक दिन २ मिनेटपछि गति कम गर्दै फेरि बढाउनुपर्ने हुन्छ ।

हप्तामा ३ देखि ५ दिनसम्म राम्रो तरिकाले दौडनु स्वास्थ्य लाभ लिन पर्याप्त हुन्छ । थकित वा सुस्त भएमा शरीरले आफैँ संकेतहरू दिने गर्छ ।

शरीरले दिएको संकेतलाई बुझेर दैनिक गरिने व्यायामबाट आराम लिनुपर्ने हुन्छ । आराम लिएका बाँकी दिनमा सामान्य हिँड्ने, जगिङ गर्ने तथा योग जस्ता हल्का गतिविधि गर्नुपर्छ ।