birat ribon

प्रहरी कार्यालयबाटै पक्राउ परे फरार प्रतिवादी

Neuro
प्रहरी कार्यालयबाटै पक्राउ परे फरार प्रतिवादी

विराटनगर, १५ मंसिर । अदालतले छ वर्षअघि नै कैद सजायको फैसला गरेको भए पनि फरार रहेका एक प्रतिवादी सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाटै पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–६ का ३१ वर्षीय अशोककुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । साहलाई कुटपिट एवं अंगभंग मुद्दामा जिल्ला अदालत मोरङले २०७१ साल असार १५ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । डीएसपी राईका अनुसार कैद सजाय भुक्तान नगरिकन उनी फरार रहेका थिए ।

cura insider

आफ्नै श्रीमती पार्वती साहलाई कुटपिट गरेर अंगभंग बनाएको घटनामा साहविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले घटनामा दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको भए पनि फरार रहेका उनी पक्राउ भने परेका थिएनन् ।

प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रहरीले अनुसन्धान अघि बढाउन लागेको मोबाइल चोरीसम्बन्धी एउटा घटनाका बारेमा बुझ्न भन्दै आफैँ प्रहरी कार्यालय पुगेका बेला साह पक्राउ परेका हुन् । शंकास्पद गतिविधि गर्न थालेपछि प्रहरीले बुझ्न थाल्दा अदालतले कैद सजायको फैसला गरेका फरार प्रतिवादी भएको खुलेको डीएसपी राईको भनाइ छ । त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको राईले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले फरार प्रतिवादीसम्बन्धी सबै विवरण अपडेट रहेकाले एउटा घटनाको पीडित बनेर प्रहरी कार्यालयमा उपस्थित भएका प्रतिवादीलाई पक्राउ गर्न सकिएको जानकारी दिए ।

उनका अनुसार झुक्याउँदै ‘सुटुक्क’ प्रहरी कार्यालय छिरेका उनी मोबाइल चोरीसम्बन्धी घटनाको पीडितका रूपमा देखिएका थिए । खड्काले अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले सक्रियता बढाएको जानकारी पनि दिए ।

फैसला कार्यान्वयनअन्तर्गत विभिन्न अपराध एवं घटनामा दोषी ठहर गरेर कैद वा जरिवानाको सजाय सुनाए पनि भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने गरिएको एसपी खड्काको भनाइ छ ।

jackson ribon