Rumpum Advertisement

इयरफोनको अत्यधिक प्रयोगले कानमा समस्या हुने

इयरफोनको अत्यधिक प्रयोगले कानमा समस्या हुने

विराटनगर, १५ मंसिर । कोभिडको संक्रमण सुरु भएसँगै घरबाट काम गर्ने, अनलाइन कक्षामा सहभागी भएका विद्यार्थी तथा समय कटाउनका लागि गीत सुन्ने र फिल्म हेर्नेमा इयरफोनको प्रयोगले कानमा समस्या निम्त्याएको छ ।

अस्पतालमा आएका अधिकांश व्यक्तिले कानमा दुखाइ र कानमा हुने संक्रमणको गुनासो गरिरहेको चिकित्सकहरू बताउँछन् । चिकित्सा विशेषज्ञहरूका अनुसार लामो समयसम्मका लागि हेडफोन र इयरपडको प्रयोगले यस्ता गुनासो बढेका हुन् । हालको समयमा कानमा देखिएको समस्या लामो समयसम्म हेडफोन प्रयोग गरेका कारण भइरहेको दखिन्छ ।

धेरैजसो आठ घण्टाभन्दा बढी हेडफोन लगाएका कारण कानमा धेरै तनाव पुगिरहेको छ । साथै, फोहोर हेडफोन र इयरपडका कारण संक्रमण फैलिन सक्छ । लामो समयसम्म उच्च आवाजमा निरन्तर हेडफोनबाट सुन्दा सुन्ने क्षमता पनि कमजोर हुँदै जाने हुन्छ । साथै, व्यक्तिहरूले आफ्नो बानी परिवर्तन नगरेमा कानमा स्थायी क्षतिसमेत भोग्नु पर्ने डाक्टरहरूले चेतावनी दिएका छन् ।

कानको समस्याबाट बच्नका लागि समय–समयमा इयरफोन हटाउन र कानलाई सुरक्षित राख्न ताजा हावा कानभित्र जान दिनुपर्ने सल्लाह दिइन्छ । कानको समस्या केवल पेसा सम्बन्धित नभएर अनलाइन कक्षामा पढ्नु पर्ने बच्चामा पनि देखिएको छ । ल्यापटप तथा फोनलगायतका उपकरणको आवाज मात्रा पर्याप्त हुने हुँदा स्कुल पढ्ने बच्चाहरूले हेडफोनको प्रयोग गर्न हुँदैन ।

बच्चाहरूले कक्षामा कत्तिको भोल्युम प्रयोग गरिरहेका छन्, त्यस कुरामा ध्यान दिनुपर्ने हुन्छ । हेडफोनमा उच्च आवाज प्रयोग गरिएमा यसले जटिलता निम्त्याउन सक्छ । लामो समयसम्म चर्को आवाज सुनिरहँदा यसले मानिसलाई चिन्तित र छिट्टै रिसाउने स्वभावको समेत बनाउन सक्ने हुन्छ ।