Rumpum Advertisement

नेपालमा २९ हजार पाँच सय एचआईभी संक्रमित

Neuro
नेपालमा २९ हजार पाँच सय एचआईभी संक्रमित

काठमाडौं, १५ मंसिर । नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ ।

विश्व एड्स दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

तीमध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेको छ । यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शून्य दशमलव १३ प्रतिशत रहेको पनि डा. देवकोटाले बताए ।

यस्तै नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । यस्तै एक वा सोभन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशतभन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशतभन्दा कम भएको पनि निर्देशक डा. देवकोटाले बताए ।

तथ्याङ्कअनुसार वि.सं. २०७७ असार मसान्तसम्ममा नेपालको कुल एचआईभी संक्रमितमध्ये १९ हजार ४ सयजना अर्थात् ६६ प्रतिशत मात्र एआईभी उपचारमा रहेका छन् । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताए । यस्तै एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ ।

एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताए ।

यस वर्ष पनि ३३ औं विश्व एड्स दिवस २०७७, भोलि अर्थात् डिसेम्बर १ मा विश्वभर मनाइँदै छ । नेपालमा पनि ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ नारा दिएर विश्व एड्स दिवस मनाइँदै छ ।