Rumpum Advertisement

डाइबिटिज रेटिनोप्याथी भएका संक्रमित गम्भीर हुने सम्भावना पाँच गुणा बढी

Neuro
डाइबिटिज रेटिनोप्याथी भएका संक्रमित गम्भीर हुने सम्भावना पाँच गुणा बढी

विराटनगर, १५ मंसिर । मधुमेहका कारण हुने आँखामा रोग (डाइबिटिज रेटिनोप्याथी) भएका मानिसलाई संक्रमण भएर अस्पतालमा भर्ना हुँदा भेन्टिलेटर चाहिने जोखिम पाँच गुणा बढी हुने अध्ययनले देखाएको छ ।

डायबिटीज रिसर्च एन्ड क्लिनिकल प्राक्टिस पत्रिकामा प्रकाशित अध्ययनले पहिलो पटक डाइबिटिज रेटिनोप्याथी र कोभिडसँग सम्बन्धित जोखिम पत्ता लगाएको हो । बेलायतको किंग्स कलेज लन्डनका अनुसन्धानकर्ताले डाइबिटिज रेटिनोप्याथी मधुमेह रोगीमा हुने साझा जटिलता हो जुन आँखामा साना रक्तनलीहरूमा क्षति पुगेको कारण हुने बताएका छन् ।

मार्च र अप्रिलबीचमा मधुमेहबाट पीडित कोभिडको संक्रमण भएर अस्पतालमा भर्ना भएका १८७ व्यक्तिको अनुसन्धान गरिएको थियो । तीमध्ये ८७ जनालाई डाइबिटिज रेटिनोप्याथी रहेको पत्ता लाग्यो । अस्पतालमा भर्ना गरिएका १८७ बिरामीमध्ये २६ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक परेको थियो । र, तीमध्ये ४६ प्रतिशत बिरामीलाई रेटिनोप्याथीको समस्या रहेको थियो ।

रेटिनोप्याथी रक्तवाहिकामा हुने क्षतिको चिह्न हो र अध्ययनको नतिजाले रक्तवाहिकामा पहिलेदेखि भएको नोक्सानले संक्रमणलाई बढी गम्भीर बनाई भेन्टिलेटरको आवश्यक पर्ने देखाएको किंग्स कलेज लन्डनका अध्ययन सहलेखक एन्टोनेला कोर्सिलोले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार मधुमेह भएका मानिसमा ठूला र साना रक्तवाहिनमा असर पुग्ने उच्च जोखिम हुन्छ ।

कोर्सिलोका अनुसार रेटिनोप्याथी जस्ता मधुमेहसम्बन्धी भास्कुलर रोगको उपस्थितिले गम्भीर कोभिडका संक्रमितमा श्वासप्रश्वासको विफलताको बढी जोखिम हुन सक्छ । बिरामीमा रेटिनोप्याथी वा मधुमेहका अन्य रक्तवाहिन जटिलताको उपस्थिति वा इतिहासको बारेमा बुझ्दा स्वास्थ्य सेवामा सहयोग पुग्न सक्ने बताइएको छ ।