Rumpum Advertisement

बाइडेनको प्रेस टिममा सबै महिला, कुकुरसँग खेल्ने क्रममा बाइडेन घाइते

बाइडेनको प्रेस टिममा सबै महिला, कुकुरसँग खेल्ने क्रममा बाइडेन घाइते

विराटनगर, १५ मंसिर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रेस टिम तयार गरेका छन् ।

सबै महिला रहेको केट बेडिङ्गफिल्ड नेतृत्वको टिमले ह्वाइट हाउसको सञ्चार तथा प्रेस हेर्ने छ । अनुभवी सञ्चार विज्ञभन्दै बाइडेनले आफ्नो चुनावी अभियानमा डेपुटी कम्युनिकेशन डिरेक्टरको जिम्मेवारीमा रहेकी केट बेडिङ्गफिल्डलाई प्रेम टिमको नेतृत्व सुम्पिएका हुन् । उनले प्रशासनमा ह्वाइट हाउस प्रवक्ताको रुपमा जेन साकीलाई चयन गरेका छन् ।

जेनी साकी बाराक ओबामाका पालामा पनि महत्वपूर्ण जिम्मेवारीमा थिइन् । उनी ओबामा प्रशासनको ह्वाइट हाउस कम्युनिकेशन डिरेक्टर हुन् । बाइडेनले लगातार आफ्नो प्रशासन विविधताले युक्त हुने र त्यसमा सबैको प्रतिनिधित्व हुने बताउँदै आएका छन् । उनले आफ्नो प्रशासनले देशको प्रतिनिधित्व गर्ने दाबी लगातार गर्दै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले वक्तव्यमा भनेका छन्, ‘सम्पूर्ण महिलासहितको पहिलो ह्वाइट हाउस कम्युनिकेशन टिम घोषणा गर्न पाउँदा गर्व लागेको छ ।’ उनले वक्तव्यमा भनेका छन्, ‘यी योग्य र अनुभवी सञ्चारविज्ञहरुले काममा विविधता ल्याउने र यो देशलाई पुनः राम्रो तथा उत्कृष्ट मार्गमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।’

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारीका दुई शीर्ष प्रेस सल्लाहकारमा सिमोन सान्डर्स र एश्ली एटिएन रहने छन् । यी पदका लागि माथिल्लो सदन सिनेटको अनुमोदन चाहिँदैन । गएको हप्ता बाइडनेले आफ्ना केही उच्च मन्त्रीहरुको चयन गर्दै बाइडेन प्रशासनले अमेरिकाको प्रतिनिधित्व गर्ने बताएका थिए । उनले पूर्व विदेश मन्त्री जोन केरीलाई जलवायु परिवर्तन विशेष दूतमा नियुक्त गर्ने घोषण गरेका थिए ।

यसैबिच बाइडेन आफ्नो मेजर नामक कुकुरसँग खेल्ने क्रममा लडेर सामान्य चोटग्रस्त भएका छन् । उनको गोडामा ‘हेयरलाइन फ्याक्चर’ भएको उनका डाक्टरले बताएका छन् । डा. केविन ओ’कोनरले जारी गरेको वक्तव्यमा बाइडेनले केही हप्ता ‘वाकिङ्ग बुट’ लगाउनु पर्ने उल्लेख गरेका छन् ।

बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । बाइडेनले सोमबार पहिलो पटक राष्ट्रपतीय दैनिक ब्रिफिङ्ग प्राप्त गर्ने बताइएको छ ।