Rumpum Advertisement

दाउरामा खाना पकाउनेको फोक्सोमा क्षति हुने सम्भावना धेरै

Neuro
दाउरामा खाना पकाउनेको फोक्सोमा क्षति हुने सम्भावना धेरै

विराटनगर, १४ मंसिर । दाउरामा खाना पकाउनेलाई फोक्सोको क्षति हुने बताइएको छ ।

रेडियोलोजिकल सोसाइटी अफ उत्तर अमेरिका (आरएसएनए)मा प्रस्तुत गरिएको अध्ययनअनुसार दाउरालगायतका बायोमास ईन्धनमा खाना पकाउने मानिसको फोक्सोमा क्षति हुने सम्भावना बढी देखिएको हो ।

दाउरामा खान पकाउने मानिसले उच्च मात्रामा प्रदूषक र विषाक्त ब्याक्टेरियालगायका पदार्थको खतरनाक सान्द्रतामा सास फेर्नुपर्ने हुँदा फोक्सोलाई ठूलो क्षति हुनेसक्ने खतरा रहेको बताइएको थियो ।

पेरियार मनिअम्माई विज्ञान तथा प्रविधि संस्थानका अन्वेषकहरूको सहयोगमा आयोवा विश्वविद्यालयमा डा. एरिक ए होफम्यानको नेतृत्वमा रहेको टोलीले पेट्रोलियम ग्यास तथा दाउरामा खाना पकाउने भारतका २३ व्यक्तिमा परेको प्रभावको बारेमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानकर्ताले घरमा प्रदूषकको सान्द्रता मापन गरी स्पिरोमेट्री र सिटिस्यान गरेर व्यक्तिको फोक्सोको कार्यको अध्ययन गरेका थिए । विश्लेषणका अनुसार पेट्रोलियम ग्यासमा खाना पकाउनेको तुलनामा दाउरामा पकाउनेहरूमा प्रदूषक र ब्याक्टेरियाको अधिक मात्रा पाउनुका साथै, फोक्सोको रोगसँग सम्बन्धित एयर ट्रापिङ्गको स्तर पनि एकदमै उच्च थियो ।

डा. किजाकके पुलियाकोटेका अनुसार एयर ट्रापिङ्ग हुँदा फोक्सोको कुनै भागले सास फेर्दा हावालाई कुशलतापूर्वक आदानप्रदान गर्न असमर्थ हुन्छ ।

अध्ययनमा संग्लग्न व्यक्तिमध्ये ५० प्रतिशतभन्दा बढीको फोक्सोमा हावा फसेको अर्थात् एयर ट्रापिङ्ग भएको पाइएको थियो ।

अन्य अध्ययन भने यसप्रकारको संवेदनशीलता धूम्रपान गर्नेहरूमा पनि देखिएको थियो । स्पष्ट लक्षण वा सास फेर्न गाह्रो हुने समस्याको अभावमा पनि, फोक्सोमा क्षति हुने वा सुन्निने समस्या हुन सक्छ, जुन केही मानिसमा पत्ता लगाउन नसकिने र सम्भावित समाधानसमेत नहुन सक्छ ।