Rumpum Advertisement

बार्सिलोनाको शानदार जित

बार्सिलोनाको शानदार जित

विराटनगर, १४ मंसिर । स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । आइतबार राति बार्सिलोनाले ओसासुनामाथि ४–० गोल अन्तरको शानदार जित निकालेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजम्यान, फिलिप्पे कौटिन्हो र कप्तान लियोनल मेस्सीले समान एक–एक गोल गरे ।

खेलको २९औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ४२औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो ।

५७औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाउँदा ७३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–० गोल अन्तरको जित दिलाए ।

जितसँगै बार्सिलोना सातौं स्थानमा उक्लिएको छ । उसले नौ खेलबाट १४ अंक जोडेको छ । ओसासुना भने ११ अंकका साथ १५औं स्थानमा छ । ओसासुनाले बार्सिलोनाभन्दा एक खेल बढी खेलेकाे छ ।