Rumpum Advertisement

जाडोमा छाला सुख्खा हुने समस्याबाट बच्नका लागि यी कुरामा ध्यान दिऔं

Neuro
जाडोमा छाला सुख्खा हुने समस्याबाट बच्नका लागि यी कुरामा ध्यान दिऔं

विराटनगर, १४ मंसिर । जाडोको समयमा बढी मात्रामा छाला सुख्खा हुने तथा छाला फुट्ने समस्या देखिने गर्छ । जाडोको समयमा हावामा पानीको मात्रा कम हुने हुँदा वातावरण सुख्खा हुन्छ ।

वातावरणले छालामा भएको मोइश्चर सोछ्ने गर्छ । जसकारण छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्ने, ओठ फुट्ने, एलर्जी हुने हुन्छ ।

विराटनगरस्तिथ क्युटिज केयर क्लिनिककी छाला तथा कपाल विशेषज्ञ डाक्टर बन्धना झाका अनुसार चिसोका कारण शरीरको सफाइमा ध्यान नदिएमा जाडोको समयमा छालामा धेरै समस्या देखिन सक्छ ।

जाडो याममा चिसो भगाउनका लागि आगो तथा हिटर ताप्ने तथा घाममा धेरै बस्दा पनि छाला सुख्खा हुने समस्या हुन सक्छ । यसरी छाला सुख्खा हुँदा फुस्रो भएर छाला रातो हुने, छाला निस्कने, फुट्ने, पोल्ने, चिलाउने हुन सक्छ ।

जाडोमा लगाइने उनीको लुगाले छालामा एलर्जी हुने समस्या निम्त्याउन सक्छ । सुख्खा तथा फुटेको छालालाई समयमै स्याहार नगरेमा विभिन्न जोखिम बढाउन सक्छ ।

तातो पानीले छालामा भएको माथिल्लो सुरक्षात्मक तहलाई हटाएर छालालाई थप सुख्खा बनाउने हुँदा जाडोमा नुहाउनका लागि अत्याधिक तातो पानीको प्रयोग गर्नुभन्दा पनि मनतातो पानीको प्रयोग गर्न सकिन्छ ।

जाडोमा धेरै साबुन वा कडाखालको साबुनको प्रयोग गर्नाले छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बास्नारहित ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सकिन्छ ।

नुहाएपछि हल्का पुछेर तुरुन्तै शरीरमा मोस्चराइजरको प्रयोग गरिहाल्नु पर्छ । जाडोको समयमा मोस्चराइजरमा पनि जोजोभा ओइल, सियर बटर, पेट्रोलियम, ग्लिसिरिन, ल्याकटिक एसिडलगायतका तत्व भएको लोसन प्रयोग गर्नु उचित हुन्छ ।

जाडोको समयमा हातखुट्टा तथा छाला फुट्ने हातखुट्टाको छाला मोटो भएर आउने समस्या भएकाले दैनिक प्रयोग गरिने मोस्चराइजरमा युरिया, ल्याक्टिक एसिड भएमा यसले छालालाई थप नरम बनाउन मद्दत गर्छ ।

जाडोमा फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्नु पर्छ । मुख धोइसकेपछि अनुहारमा भिटामिन सी सेरम र सन्स क्रिमको अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ ।

छाला एकदम सुख्खा भए दिनको ३ देखि ४ पटकसम्म मोइस्चराइजरको प्रयोग गर्न सकिन्छ । ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा ‘एसपिएफ’ भएको ओठमा लगाउने क्रिम (लिप बाल्म) लगाउनु पर्छ ।

शरीरमा पानीको मात्रापनि कम भइ छाला सुख्खा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु पर्छ । आगो तथा हिटर ताप्दा दुरी मेन्टन गर्नुपर्छ । आगो तथा हिटर तापेर छालालाई एक्सपोज गर्नुभन्दा पनि हट वाटर ब्यागको प्रयोग गर्न उचित हुन्छ ।

उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाउनाले एलर्जीबाट बच्न तथा चिलाउने समस्या नहुन सक्छ । टाइट मोजा वा पन्जाले रगतको सञ्चारमा अवरोध पु¥याएर अन्य समस्या निम्त्याउन सक्नेहुँदा जाडोमा एउटै मोटो लुगाको प्रयोग गर्नुभन्दा पनि पातलो लेयर गरेर लगाएको उचित हुन्छ ।

बाहिर सुख्खा हावा चलेको समयमा ननिस्कने, वा निस्कन परे अनुहारलाई सकेसम्म छोपेर मात्र निस्कने गर्नुपर्छ ।