Rumpum Advertisement

‘महिला हिंसा झन् बढ्दो’

‘महिला हिंसा झन् बढ्दो’

विराटनगर, १४ मंसिर । चौतर्फी प्रयासका बाबजुद महिला हिंसा झन् भयाभह बन्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
२९औँ अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा आयोजित अन्तिर्क्रियाका सहभागीले यस्तो धारणा राखेका हुन् ।

आइतबार विराटनगरमा भएको अन्तर्क्रियामा मानवअधिकारकर्मीहरूले हिंसा नियन्त्रणका लागि अनेक प्रयास गर्दा पनि घटना बढेको बताएका हुन् । कार्यक्रममा प्रदेश १ योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले राज्यको लाचारीपनको कारणले समस्या जटिल बन्दै गएको बताए ।

उनले भने ‘एउटा महिला पीडित हुँदा राज्यले न्याय दिलाउनुपर्ने कि न्यायको लागि महिला राज्यसमक्ष पटकपटक धाउनुपर्ने ?’ उनले महिलाको सबै विषयलाई यौनिकतासँग जोडेर हेर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

स्थानीय तहसँग प्रशस्त अधिकार भए पनि त्यसको कार्यान्वय नभएको उनले बताए । स्थानीय तहलाई आफ्नो पठ्यक्रम लागू गर्ने अधिकारको सदुपयोग गर्दै आफ्नो पालिकामा कस्तो प्रकारको हिंसा हुन्छ त्यहीँअनुसारको पठनपाठन सामग्री निर्माण गर्न सुझाव दिए । अहिलेको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगको मुख्य भूमिका रहेको उनले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग विराटनगरकी निमित्त प्रमुख गीता दाहालले अदालतबाट भएको फैसलासमेत पीडितले थाहा नपाउने अवस्था बन्दै गएको बताइन् ।

सोझा, सिधा र विपन्नले अदालतले कैले र के फैसला ग¥यो भन्ने नै जानकारी नपाउने अवस्था बन्नु दुखद भएको बताइन् । संस्थागत कार्यालयहरूमा गरिब, पीडित र दुखीहरूसँग ठाडो व्यवहार गर्ने कुरै नसुनिदिने गरेका अरोप लागाइन् ।

उनले राजनैतिक नेतृत्वबाटै पीडित महिलाहरूको चरित्र हत्या गर्नेसम्मको काम हुने गरेको बताइन् ।

अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक)का प्रदेश १ संयोजक सोमराज थापाले सबैको नजर पुग्दा पनि हिंसाका घटना कम हुनुको सट्टा झन् बढेको बताए । हिंसाका घटना प्रत्येक वर्ष बढेर जानु चुनौतीको विषय बन्दै गएको बताए ।

एबीसी नेपाल विराटनगरकी अध्यक्ष विष्णु पन्तले महिला हिंसाको अवस्था डरलाग्दो बन्दै गएकोले सबैले सहकार्य गरेर अगाडि बढनुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय मोरङका डिएपी मानबहादुर राईले हिंसाको घटना नियन्त्रणको लागी एकीकृत योजना बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालकी अध्यक्ष मञ्जिता उपाध्याय, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, जिल्ला अध्यक्ष बन्दु पोखरेललागायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश १ प्रहरी कार्यालयका डिएसपी कविन्द्रकुमार कार्कीले महिला हिंसाको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।