Rumpum Advertisement

नेपाल प्रहरीमा एआईजी र डीआईजी बढुवाको बाटो खुल्यो, एआईजीको एक्लो दावेदार पोखरेल

Neuro
नेपाल प्रहरीमा एआईजी र डीआईजी बढुवाको बाटो खुल्यो, एआईजीको एक्लो दावेदार पोखरेल

विराटनगर, १४ मंसिर । नेपाल प्रहरीमा एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) र डीआईजी (प्रहरी नायव महानिरीक्षक) को बढुवा चाँडै हुने भएको छ ।

एक एआईजी र पाँच डीआईजीको नयाँ पद दर्ता भएर प्रहरी किताबखानाबाट आइतबार प्रहरी प्रधान कार्यालय आइपुगेसँगै बढुवा प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले पद दर्ता भइसकेका कारण बढुवा प्रक्रिया अघि बढाउन बाटो खुलेको जानकारी दिए ।

गृह मन्त्रालय स्रोतका अनुसार ढिलो गर्दा धेरै विवाद आउनसक्ने र जुनियर प्रहरी अधिकृतलेसमेत बढुवामा पर्नका लागि आकांक्षा देखाउन थालेका कारण जतिसक्दो चाँडो बढुवा निकाल्ने तयारी छ ।

कात्तिक २८ गतेको मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप गरेको थियो । सरकारले नयाँ दरबन्दी थप गरेसँगै प्राविधिकबाहेक नेपाल प्रहरीमा एआईजीको दरबन्दी चार र डीआईजीको दरबन्दी १९ कायम भएको छ ।

नेपाल प्रहरीभित्र एआईजीको बढुवामा पर्नेमा डीआईजी विश्वराज पोखरेल एक्ला उम्मेदवार हुन् । अरुभन्दा एक वर्ष सिनियर रहेका कारण उनी बढुवा हुने सम्भावना बढी छ ।

‘समकालीन डीआईजीभन्दा एक वर्ष सिनियर भएका कारण पोखरेल एआईजी बन्ने सम्भावना धेरै छ ।’ स्रोतले भन्यो, ‘तर डीआईजीको आकांक्षी धेरै भएकाले बढुवामा प्रतिस्पर्धा हुन्छ ।’

पोखरेल एसएसपीबाट २०७६ साल वैशाखमा डीआईजीमा बढुवा भएका हुन् । अरु डीआईजीहरु २०७७ वैशाखमा मात्रै एसएसपीबाट बढुवा भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजीसहित डीआईजी बढुवामा एकै ब्याचका धेरै प्रतिस्पर्धी छन् । उनका ब्याचकै १० भन्दा बढी प्रतिस्पर्धी डीआईजीको दौडधुपमा रहेका कारण बढुवा कठिन बनेको स्रोतको भनाइ छ ।

उनीहरुभन्दा जुनियर अर्थात् १०८ ब्याचका सन्दीप भण्डारी, श्याम ज्ञवाली, टेकप्रसाद राई, उमेशराज जोशी, दीपक थापा, भीम ढकाललगायत पनि दौडधुपमा रहेको स्रोतको दावी छ ।

अहिले जम्मा नौजनालाई डीआईजीमा बढुवा गर्नुपर्ने छ । क्षेत्रीकै ब्याची १० भन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा तल्लो ब्याचबाट डीआईजी बढुवा हुने सम्भावना कम रहेको स्रोत बताउँछ ।

गृह प्रवक्ता चक्र बुढाले बढुवा प्रक्रियाका बारेमा आफूलाई केही जानकारी नहुने बताए । ‘बढुवाका विषयमा मलाईभन्दा पनि प्रशासनलाई थाहा हुन्छ,’ उनले भने, ‘बढुवा सकिएपछि मात्रै मैले जानकारी पाउने हो ।’

उपत्यकाको कमाण्ड सम्हाल्ने गरी तत्कालै आवश्यकता देखिएपछि एक एआईजीको दरबन्दी थप गरिएको गृह मन्त्रालयले जनाएको छ । उपत्यका हेर्ने गरी महानगरीय प्रहरी कार्यालय छ । यस कार्यालय मातहतमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी युनिट पर्छन् ।

५० लाख बढी जनसंख्या रहेको उपत्यकामा १५ हजारभन्दा बढी प्रहरीको नेतृत्व गर्नुपर्छ । त्योबाहेक मुलुकका विभिन्न स्थानमा हुनेमध्ये ९० प्रतिशत कार्यक्रम उपत्यकामा हुने, आपराधिक क्रियाकलाप र गुण्डागर्दी धेरै हुने, बढी जनसंख्या, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भीआईपीको मुभमेन्ट र बसोबास आदिसमेत हेर्नुपर्ने भएकाले उपत्यकामा एआईजीको नेतृत्वमा प्रहरी रहनुपर्ने निक्र्योल निकाल्दै सरकारले एआईजीको एक दरबन्दी थप गरेको गृह मन्त्रालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयको नेतृत्व २०६३ सालदेखि २०७४ सम्म लगभग ११ वर्ष एआईजीले गरेका थिए । सरकारले एआईजीको दरबन्दी कतौटी गरेपछि उक्त कार्यालयको नेतृत्व डीआईजीले गरिरहनु परेको छ । अहिले डीआईजी पोखरेलको नेतृत्वमा महानगरीय प्रहरी कार्यालय छ ।

को हुन् एआईजीको दावेदार पोखरेल ?

स्वच्छ र व्यावसायिक छवि भएको प्रहरी अधिकृतका रुपमा चिनिने पोखरेल एआईजीको दावेदार हुन् । उनी बढुवा भए प्रहरीको भावी नेतृत्वका लागि एक्कलो दावेदार बन्नेछन् ।

पोखरेल २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा संखुवासभा प्रहरी प्रमुख र २०७० सालमा भएको दोस्रो निर्वाचनमा मोरङ प्रहरी प्रमुख थिए । डीएसपी हुँदा संखुवासभा र एसपी हुँदा मोरङ प्रहरीको नेतृत्व गरेका उनले संविधानसभाका दुवै निर्वाचन सफलतापूर्वकरुपमा सम्पन्न गरेका थिए ।

संघीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा प्रहरीको नेतृत्व गरेका पोखरेलसँग अदालतमा पाँच वर्षसम्म काम गरेको अनुभव पनि छ ।

न्याय सेवामा पाँच वर्ष काम गरेका उनले २०४९ साल चैत १२ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा आरम्भ गरेका थिए । प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा उनको महत्वपूर्ण योगदान रहेको नेपाल प्रहरीका एक अधिकृतले बताए ।