Rumpum Advertisement

पीएसजीलाई नेयमारको यस्तो चेतावनी

पीएसजीलाई नेयमारको यस्तो चेतावनी

विराटनगर, १४ मंसिर । ब्राजिलियन स्टार फुटबलर नेयमारले आफू आवद्ध क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई चेतावनी दिएका छन् । च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलअघि टोलीको प्रदर्शन फित्तलो भएको संकेत गर्दै नेयमारले पीएसजीलाई चेतावनी दिएका हुन् ।

लिग वानअन्तर्गत बोर्डेअक्ससँग अंक बाँड्न बाध्य भएपछि नेयमारले यस्तो तरिकाले युनाइटेडको सामना गर्न कठिनाइ हुने बताए ।

लिग वानमा साविक विजेता पीएसजीले बोर्डेअक्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । शनिबार राति पीएसजीको मैदानमा बोर्डेअक्सले सुरुआती अग्रता बनाएको थियो ।

दसौं मिनेटमा टिमोथी पेम्बेलेले आत्मघाती गोल गरेपछि बोर्डेअक्सले अग्रता बनाएको थियो । खेलको २७औं मिनेटमा पीएसजीले पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसको एक मिनेटपछि मोइसे किनले गोल गर्दै पीएसजीलाई पहिलो हाफभरि अग्रता दिलाए । ६०औं मिनेटमा याकिन अदिलले गोल गर्दै बोर्डेअक्सलाई बराबरीमा फर्काए । त्यसपछि बाँकी समयमा गोल हुन सकेन र पीएसजी आफ्नै घरमा अंक बाँड्न बाध्य भयो ।

अब, पीएसजीले आफ्नो अर्को खेलमा युनाइटेडको सामना गर्दैछ । च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पाँचौं खेलमा पीएसजी र युनाइटेड भिड्नेछन् । २ डिसेम्बरमा हुने यो खेल युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

‘हामीलाई थाहा छ कि च्याम्पियन्स लिगमा बुधबार हुने खेल महत्त्वपूर्ण छ । यो निर्णायक पनि छ । हामीले गत मंगलबार आरबी लेइपिजसँगको खेल राम्ररी खेल्न सकेनौं । त्यै पनि हामीले १–० गोलले जित्यौं’, उनले भने ।

यसैगरी नेयमार क्लबको प्रदर्शनमा सुधार नआएको खण्डमा युनाइटेडसँगको खेल कठिन हुनसक्ने भन्दै चेतावनी दिए ।

‘अब बुधबार हामीले आफ्नो उत्कृष्टता दिने प्रयास गर्नुपर्छ, राम्ररी खेल्नुपर्छ । तर, हामीमा सुधार आवश्यक छ । टिमका रूपमा अझ खेल्नुपर्छ, एक ढिक्का भएर लाग्नुपर्छ । अन्यथा युनाइटेडसँगको खेल निकै कठिन हुन जानेछ’, नेयमारले भने ।

‘बोर्डेअक्ससँगको खेल प्रतिस्पर्धात्मक रह्यो । हामी गोल गर्न सफल भयौं तर हामीमा केही कुराको अभाव रह्यो । यसमा हामीले सुधार गर्नैपर्छ । यदि, त्यसो नभएमा यो घरेलु लिग होइन । लिगमा धेरै खेल हुन्छन्, सुधार्न सकिन्छ । च्याम्पियन्स लिगमा कठिनाइ नै हुनेछ,’ उनले थपे ।

यस बराबरीसँगै पीएसजीले १२ खेलबाट २५ अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । बोर्डेअक्स भने १६ अंकका साथ ११औं स्थानमा छ ।