Rumpum Advertisement

अल्भेससँगको पराजयले चिन्तित जिदान

अल्भेससँगको पराजयले चिन्तित जिदान

विराटनगर, १४ मंसिर । स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान ला लिगाअन्तर्गत डिपोर्टिभो अल्भेससँगको पराजयबाट चिन्तित बनेका छन् ।

च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलानमाथि दुवै खेलमा जित निकालेको रियल शनिबार राति अल्भेससँग २–१ गोलले पराजित भएको थियो ।

रियलको मैदानमा भएको खेलमा अल्भेसलाई जिताउन लुकास पेरेज र जोसेलुले समान १–१ गोल गरेका थिए भने रियलका क्यासेमिरोले एक गोल फर्काएका थिए । आफ्नै घरमा स्तब्ध हुन पुगेपछि साविक विजेता रियलका प्रशिक्षक जिदान निराश बनेका हुन् ।

‘मेरो विचारमा हामीमा अहिले केही समस्या छन् । त्यसमध्ये एक स्थिरता पनि हो;’ खेलपछि पत्रकारसँग बोल्दै जिदानले भने, ‘यसैले हामी आफूलाई सावित गर्नका लागि प्रयासरत छौं । हाम्रा धेरै खेलाडीले चोट बोकेका छन् । यही बाहना हामीले बनाइरहेका छौं, यो नै वास्तविकता हो ।’

यसैगरी जिदानले आगामी खेलमा भने चोटका कारण समस्यामा परेका खेलाडीहरू फर्किनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

‘आशा गर्छु कि आगामी खेलबाट हामीले आफूलाई सावित गर्नेछौं । चोटका कारण खेलाडी फर्किनेछन् र एउटा गतिशिल टोलीका साथ मैदान फर्किएर खेलको नतिजा परिवर्तन गर्नेछौं,’ उनले थपे ।

यससँगै अल्भेसले ११ खेलबाट १३ अंक जोडेको छ । अल्भेस नवौं स्थानमा छ । रियलले भने १० खेलबाट १७ अंक जोडेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ ।