Rumpum Advertisement

युभेन्टसले रोनाल्डोविना पनि जित्नुपर्छ : प्रशिक्षक पिर्लो

युभेन्टसले रोनाल्डोविना पनि जित्नुपर्छ : प्रशिक्षक पिर्लो

विराटनगर, १४ मंसिर । इटालियन फुटबल क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले फरवार्ड क्रिस्टियानो रोनाल्डोविना पनि टोलीलाई सावित गर्न चाहेको उल्लेख गरेका छन् ।

शनिबार राति सिरी ‘ए’ अन्तर्गत बेनेभेन्टोसँग बराबरीमा रोकिएपछि पत्रकार सम्मलेनमा बोल्दै पिर्लोले रोनाल्डोको अनुपस्थितिमा पनि टोलीलाई सावित गर्न चाहेको बताए ।

रोनाल्डोविनाको युभेन्टसले गए राति भएको खेलमा बेनेभेन्टोसँग १–१ गोलको बराबरी खेलेको थियो । बेनेभेन्टोको मैदानमा साविक विजेता युभेन्टसले सुरुआती अग्रता बनाएको थियो ।

२१औं अल्भारो मोरोटाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा गेटानो लेटिजियाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

पिर्लोले रोनाल्डोलाई सो खेलमा आराम दिएका थिए । सो खेलपछि बोल्दै पिर्लोले रोनाल्डोविना पनि युभेन्टसले जित्नुपर्ने बताए ।

‘रोनाल्डो धेनै महत्त्वपूर्ण खेलाडी हुन् । हाम्रा लागि मात्र होइन, जब उनी रियलमा थिए त्यहाँ पनि उनी महत्त्वपूर्ण नै थिए । यस्ता प्रकारका खेलाडीहरूले गोल गर्छन् र खेलमा जित दिलाउँछन् । तर, रोनाल्डोविना पनि टोलीले जित्नुपर्छ । रोनाल्डोविना पनि टोलीले धेरै काम गर्नुपर्छ । हामीले उनीविना पनि आफूलाई सावित गर्नुपर्छ,’ उनले भने ।

यस बराबरीसँगै युभेन्टसले ९ खेलबाट १७ अंक जोडेको छ । ऊ अंक तालिकाको पाँचौं स्थानमा छ । बेनेभेन्टो भने १० अंकका साथ १२औं स्थानमा छ ।