Rumpum Advertisement

नेकपाको इन्जिन ‘सिज’ भएको हो ?

विस्तारैविस्तारै देशको थिति बिगार्नमा नेताहरू यसरी नै लागिरहे भने मेहनती, श्रमजीवी, किसान, मजदुर र निमुखाहरू पनि सडकमा उत्रिने दिन आउने छन्

Neuro
नेकपाको इन्जिन ‘सिज’ भएको हो ?विस्तारैविस्तारै देशको थिति बिगार्नमा नेताहरू यसरी नै लागिरहे भने मेहनती, श्रमजीवी, किसान, मजदुर र निमुखाहरू पनि सडकमा उत्रिने दिन आउने छन्
पेशल आचार्य

‘दुई इन्जिन भएको जेट’ भनियो सुरूसुरूमा नेकपाको एकीकरण भएर दह्रो कम्युनिष्ट पार्टीको अभ्युदय हुँदा । एकता सभामा दुवै बूढा नेताहरूको जोश थामिसक्नु थिएन । कार्यकर्ताहरूले देशै जितेको भान गरेका थिए । जनता पनि अब देशमा स्थीरता हुन्छ, विकास हुन्छ र मुलुकले समृद्धितर्फको यात्रा तय गर्छ भन्नेमा ढुक्कै थिए । तर समयले नेकपालाई यी तीन वर्षमा गम्भीर मोडमा ल्याएर छाडिदिएको छ ।

हुन त इतिहासमा पनि वीपी कोइरालाको सरकारलाई सम्वत् २०१५ सालको चुनाबबाट दुई तिहाई बहुमत नै प्राप्त भएको हो । तर त्यो बेला वीपी र राजा महेन्द्रको व्यक्तित्वमा टसल भयो अनि राजाले प्रजातन्त्रको अपहरण गरी बलात्रुपमा पञ्चायती व्यवस्थाको सुरूआत गरे । पञ्चायती व्यवस्थालाई चीरकालसम्म टिकाइरहनका लागि राजाले कांग्रेस र कम्युनिष्ट पार्टीबाट गतिलागतिला राजनीतिज्ञहरूलाई पञ्चायतमा प्रवेश गराए । गतिला अवसरहरू दिए । एक प्रकारले भन्ने हो भने साम, दाम, दण्ड र भेदको नीति नै अख्तियार गरे । राजा महेन्द्र निकै बाठा थिए । उनको विचारमा वीपी नहिँड्ने वीपीले राजा महेन्द्रलाई कन्भिन्स गर्न नसक्ने । यस्तैयस्तै भएर ती दुईवीच व्यक्तित्वको टकराब भयो ।

अहिले पनि लगभग गणतन्त्रको भात पाक्न केही ढिला भएकाले राजतन्त्ररुपी गोबरले हरक दिन थालेको देखिन्छ । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा नेता डा. बाबुराम भट्टराईले त माझै मुखले नै भनिसके–‘गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऊँ ।’ डा. बाबुरामलाई के थाहा छैन भने जनताले पर्खिनका लागि चुनाबबाट जनप्रतिनिधिहरूलाई चुनेर संसदमा पठाएका होइनन् । जनताले कति समय पर्खने ? सात सालदेखि सत्तरी सालसम्म संविधानसभाका माध्यमबाट संविधान बनाउने प्रक्रियाका लागि पर्खिए ।

अझ निख्रिएर भन्ने हो भने डा. बाबुरामकै पालामा पहिलो संविधानसभाको विघटन भयो र दोस्रो संविधानसभाको चुनाव भयो । यिनै राजनीतिक पार्टीहरूको दन्त बझान र मतऐक्यता नभएका कारणले नै सो पहिलो संविधानसभा विघटन भएको थियो । अहिले पनि तिनै बाबुराम कुर्लिरहेका छन् । नेताहरूले पाएजति सुविधा जनताका हक हितमा भकाभक भएको भए जनता किन यसरी फेरि सडकमा आउने थिए । नेताहरूले हेक्का राखेकै राम्रो हुन्छ कि सडकमा युवा र तन्नेरीवयका मानिसहरू धेरै निस्केका छन् । खान पुग्ने र हुने खाने नै निस्केका देखिन्छन् । विस्तारैविस्तारै देशको थिति बिगार्नमा नेताहरू यसरी नै लागिरहे भने मेहनती, श्रमजीवी, किसान, मजदुर र निमुखाहरू पनि सडकमा उत्रिने दिन आउने छन् ।

नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले राजतन्त्रप्रतिको उभार र सडकमा देखिएको र्‍यालीलाई इङ्गित गर्दै चेतावनीका भाषामा भनेका छन्– ‘आन्दोलनलाई कसरी दबाउनु पर्दछ भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’ उनले यसो भनेर जनभावनालाई नै च्यालेन्ज गर्न खोजेका हुन् । यसरी राजाका पक्षमा देशैभरि निस्केको जुलुस र र्‍यालीमा ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउनेमा राप्रपा, हिन्दूवादी कार्यकर्ता र सामान्य मानिसहरू मात्रै छैनन् । एक अनौपचारिक सर्वेले भनेको छ कि ती देशैभरिका जुलुसमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरू पनि सक्रिय भएर हिँडेका छन् ।

जनताले गत निर्वाचनमार्फत् उसले दिएको अभिमतलाई लत्याएर आफूआफूमा झगडा गरी समय बर्बाद गर्ने, महामारीमा जनताको भावनासँग उल्टोगरी खेल्ने, राहत र सुविधाका कुरामा राजनीति गर्ने, श्रमिक र मजदुरलाई भोकभोकै कार्यस्थलबाट हजारौं किलोमिटरको पैदल हिँड्न बाध्य पार्ने, कुराले ठिक्क पार्ने तर कामले मुन्टो फर्काउने अनि शासनमा बस्न पाएँ भन्दैमा जनतालाई ठूल्ठूला कुरामात्र गरी हंकीडंकी गर्ने स्वभावले जनता तर्सिएका छन् ।

पुराना कम्युनिष्ट नेता तथा नेकपाका मालेका अध्यक्ष सीपी मैनाली भन्छन्– ‘अहिले भारतीयहरूले एमसीसीका लागि जसरी पनि ओलीको सरकार ढाल्न खोजिरहेको छ । अहिलेका यी झगडाहरू कहीँ न कहीँ सत्ताको रस चाख्नका लागि मात्र रचिएका छन् । केहीगरी यो सरकार गिर्‍यो भने पनि फेरि केपी ओलीकै सरकार बन्ने हो । त्यसको ५/६ महिनापछि मात्र प्रचण्ड सत्तामा ल्याइन्छन् । यसरी नै खिच्रिङ्मिच्रिङ् गर्दै एक वर्षसम्म धकेलेपछि अर्को वर्ष चुनावी वर्ष लाग्नेछ जसका लागि भारतले फेरि प्राथमिकतामा डा. बाबुराम भट्टराई र महन्थ ठाकुरलाई नै रोजेको छ ।’ यति भनिसकेपछि बाबुरामको भनाइको अन्तर्य बुझ्न जोकोहीलाई गाह्रो पर्दैन ।

सीपीका कुरामा दम छ किन पनि भने अमेरिका नेपाललाई अहिले भारतका आँखाले हेर्न चाहन्छ । यतिखेर नेपाल र भारतको सीमा विवाद तातो इसुका रुपमा उठेको बेला छ । यही बेलामा एमसीसीका लागि अमेरिकाले नेकपा र कांग्रेसलाई एक ठाउँमा ल्याएर कथंकदाचित नेकपा पार्टी फुटिहालेका खण्डमा संयुक्त सरकारमा लगी जुनसुकै मोलमा पनि एम्सीसी पास गराउन चाहेको छ । अर्कोतर्फ चीन यो रणनीतिको जमेर विरोध गरिरहेको छ । उसले बीआरआईलाई जसरी पनि नेपालमा लागू गराउनु छ । यिनै दुई अन्तर्राष्ट्रिय रणनीतिहरूका बीच नेपाल चेपुवामा परेको अवस्था छ ।

नेपाललाई यतिखेर विदेशीहरूले आफ्नो सतरञ्जको मैदान बनाएका छन् । यहाँ भारतीयहरू मात्र खेलिरहेका छैनन् । सँगसँगै चाइनिजहरू पनि खेलिरहेका छन् । युरोपियन युनियनका शक्तिकेन्द्रहरू धर्म र संघीयताका चेसका चाल चलिरहेका छन् भने अमेरिका उसको मिलेनियम च्यालेन्ज कर्पोरेसनका नामममा यो वा त्यो बहाना गरी नेपालमा खुट्टा टेकेर चीन हान्न चाहन्छ । त्यसैले पनि यहाँका राजनीतिक पार्टीहरूभित्रको खिचातानी सजिलै नमिलेको हो । देश र जनताको हितमा गरिने काम भएका भए मिल्ने गुन्जायस पनि हुन्थ्यो । तर यहाँ त सबैसबै पार्टीले कम्बल ओढेर घिउ खाने गरेकाले कुरोमा भाँजो हालिएको हो । यही माहौलमा गत महिना भारतीय जाजुसका मुखिया सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणले नेकपाप्रति उसकै पार्टीका कार्यहरूको बचेखुचेको आस्था र शाख पनि मटियामेट गरिदियो ।

जानकारहरूका अनुसार ‘नेपाललाई भारतले राजनैतिक तबरले डिल गर्नुपर्ने देशभन्दा तल राखेर उसको कर्मचारीको हैसियतमा डिल गर्ने तहमा झारिदिएको छ । तर यस्तो अवस्थामा पनि हाम्रा नेताहरूचाहिँ अझै मख्ख परिरहेका छन् । यो महामारीका बेलामा रचिएको खतरापूर्ण साजिस हुन सक्छ । नेपाली नेताहरू भारतीय नेताहरूका समकक्षी भएर राजनीतिक तबरले यस्ता पेचिला समस्याहरूमा वार्ताद्वारा समस्या सुल्झाउन उद्यत्त हुनु पर्नेमा यतिखेर भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको गम्भीर मौनता नै अर्को रहस्यको विषय भएको छ । पाका, अनुभवी, मन्त्री भइसकेका मानिसलाई देशले त्यत्रो जिम्मेवारी सुम्पेर पठाउँदासमेत उनी सीमा, द्विपक्षीय हित र समसामयिक सबालमा भारतीय राजनीतिज्ञहरूको नेपाली समकक्षीहरूसँग वार्ता गराउने सबालमा चुप लागेर बस्नु भनेको खोजको विषय हुन सक्छ ।

दुईदुई पाइलटले उडाएको नेकपारुपी जेट गन्तव्यमा नपुग्दै दुर्घटना हुने स्थिति अहिले प्रबलरुपमा देखिएको छ । यो अवस्थाबाट नेकपालाई बचाएर देशलाई पनि गति दिनु अहिले सबैको चिन्ता र चासोको विषय भएको छ । जनता जान्न चाहन्छन्– के नेकपारुपी जेटको इन्जिन अब ‘सिज’ भएकै हो त ? यदि हो भने ग्राउन्डेड हुनु पर्‍यो र अर्कोलाई मैदान खुला गर्नु पर्‍यो । हैन भने सधैँका लागि यो रडाको किन मच्चाएका यी दुई बूढाले भनी कार्यकर्ता र दोस्रो/तेस्रो पुस्ताका नेताले प्रश्न गरेर छेक्नु पनि पर्‍यो । यसैमा नेकपाका कार्यकर्ताको भलाइ छ ।