Rumpum Advertisement

भेन्टिलेटरमा पुगेका संक्रमित सामान्य दैनिकीमा फर्कने सम्भावना कति ?

भेन्टिलेटरमा पुगेका संक्रमित सामान्य दैनिकीमा फर्कने सम्भावना कति ?

विराटनगर, १४ मंसिर । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि लक्षणसहितका विरामी बढ्न थालेका छन् । पछिल्लो समय अस्पताल भर्ना भएका संक्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने आवश्यकता बढ्दो छ ।

मधुमेह रोगी, दम, पुरानो क्षयरोगी, दीर्घरोगी, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा कोरोनाका कारण निमोनिया भए भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय गम्भीर लक्षण भएका संक्रमित बढ्दै गएको विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका जनरल फिजिसियन डा. साहिल अन्सारी बताउँछन् ।

उनका अनुसार निमोनिया विभिन्न कारणले हुने गर्छ । तर, कोभिडका कारण हुने निमोनिया बढी घातक हुन्छ ।

कोरोना संक्रमणका कारणले हुने निमोनिया छिटो गतिमा फैलन्छ । अन्य कारणले हुने निमोनियाको उपचारका लागि एन्टिव्याक्टेरियल औषधि प्रयोग हुन्छ । तर, कोभिडको कारणले हुने निमोनियाको उपचारका लागि औषधि नभएको डा. अन्सारी बताउँछन् ।

कोरोना भाइरसको संक्रमण हुँदा छिटो गतिमा फोक्सोमा असर पुर्‍याउने गरी निमोनिया हुने गर्छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या हुने, छाति दुख्ने, शरीरमा अक्सिजनको मात्रा कम हुने जस्ता गम्भीर लक्षण देखा पर्छ ।

घुम्रपान, मदिरापान, सरसफाइमा ध्यान नदिएमा, स्वच्छता र धुलो भरिएको ठाउँले समेत संक्रमितलाई थप गम्भीर बनाउँछ ।

सामान्य भाषामा निमोनिया हुनु भनेको फोक्सोको संक्रमण हो । संक्रमणले गर्दा श्वासप्रश्वासमा समस्या आएर मस्तिष्क तथा अन्य अंगमा अक्सिजनको कमी हुन्छ । निमोनिया बिग्रँदै जाँदा फोक्सोमा पानी जम्ने, पिप जम्ने र संक्रमण रगतमा सरेर शरीरका विभिन्न अंगलाई क्षति पुर्‍याउन सक्छ ।

बिस्तारै शरीरका अंगले काम गर्न बन्द गर्छ र समयमा उपचार नपाए निमोनियाका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

शरीरमा अक्सिजनको आपूर्तिलाई सजिलो बनाउनका लागि बिरामीलाई भेन्टिलेटरको सपोर्टमा राखिन्छ । एक स्वस्थ मानिसले वातावरणमा भएको अक्सिजन लिन्छ र कार्बनडाइअक्साइड बाहिर फाल्ने गर्छ । तर, कोभिडका कारण श्वासप्रश्वासमा समस्या निम्तिने हुँदा बिरामीलाई शरीरमा आवश्यक अक्सिजन प्रदान गर्न र कार्बनडाइअक्साइड बाहिर निष्कासन गर्नका लागि भेन्टिलेटरको प्रयोग गरिएको हो ।

भेन्टिलेटरबाट फर्कने सम्भावना कम

भेन्टिलेटरको उपचारपछि केही बिरामी सामान्य जीवनशैलीमा फर्कन्छन् । समयमा नै भेन्टिलेटर पाएका बिरामी सामान्य जीवनशैलीमा फर्किए पनि ढिलो उपचार पाउने सामान्य दैनिकीमा फर्कने सम्भावना कम हुन्छ ।

बिरामीलाई कुन अवस्थामा अस्पताल भर्ना गराएको हो र उपचार कुन बेलादेखि पाएको हो भन्ने विषयले बिरामी पुनः स्वास्थ भएर भेन्टिलेटरबाट फर्कने वा नफर्कने विषयको निर्धारण गर्छ ।

कोभिडका कारण भेन्टिलेटरमा उपचार गराइरहेका बिरामी पुनः सामान्य अवस्थामा फर्कन कम छन् । तर, कोभिडबाहेकको निमोनिया भएका बिरामी भेन्टिलेटरबाट उपचारपछि फर्किने सम्भावना उच्च छ । कोरोनाको उपचार र औषधि नभएका कारण निमोनियाको गम्भीर अवस्थामा पुगेका संक्रमित सामान्य अवस्थामा फर्कने सम्भावा कम हुने चिकित्सकहरु बताउँछन् ।