Rumpum Advertisement

मास्क परिवर्तन गर्नका लागि उत्तम समय कहिले ?

मास्क परिवर्तन गर्नका लागि उत्तम समय कहिले ?

विराटनगर, १४ मंसिर । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै मास्क हाम्रो जीवनमा एकदम महत्वपूर्ण बनेको छ ।

संक्रामक भाइरसबाट जोगाउन मास्क सबैभन्दा प्रभावकारी हुने हुँदा हालको समयमा मास्कविना घरबाट बाहिर निस्कन पनि मिल्दैन । सर्जिकल तथा कपडाको मास्कले ७० प्रतिशतसम्म भाइरस प्रशारणको जोखिम कम गर्न सक्छ । सर्जिकल र कपडाको मास्कले कुनै सार्वजनिक ठाउँमा हुँदा कुनै पनि संक्रामक भाइरल कणबाट जोगाउन मद्दत गर्छ ।

तर, खराब, बिग्रिएको र न्यून गुणस्तर भएको मास्कको प्रयोगले जीवाणु र प्रदूषणलाई फिल्टर गर्न र सुरक्षा प्रदान गर्न सक्दैन । मेडिकल दिशानिर्देशहरूका अनुसार, थ्री–प्लाई, फिट मास्क प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता मास्कलाई भविष्यमा प्रयोगको लागि धोएर पुनः प्रयोग गर्न सकिनुका साथै सस्तो पनि हुने गर्छ । लगातार प्रयोग र समयको साथ मास्कमा प्रयोग भएको फ्याब्रिक कम प्रभावकारी हुँदै जान्छ ।

साथै, मास्कलाई रगडेर धुँदा वा धुँदा प्रयोग गरिने रसायनले पनि मास्कलाई छिटो बिगार्न सक्छ । उचित हेरचाहका साथ राखे वा प्रयोग गरे पनि मास्कको पनि म्याद सकिने मिति हुन्छ । त्यही भएर मास्क लुज भएर अनुहारमा फिट नभएमा, मास्कमा प्वाल परेमा, मास्कमा प्रयोग भएको फ्याब्रिक बिग्रिँदै वा पातलो हुँदै गएमा, मास्क चुट्टिएमा, प्रदुषित भएको ठाउँबाट फर्किएपछि तुरुन्तै मास्क बदल्नु पर्ने हुन्छ ।

धेरै यात्रा गर्ने, भाइरसको अधिक जोखिममा रहेका, मौसम परिवर्तन हुँदा, धेरै पटक धोइएको र धेरै पटक खोल्दै लगाउनेहरूले मास्कलाई छिट्टै परिवर्तन गर्नुपर्ने हुन्छ । भिजेको वा लामो समयसम्म लगाइएको मास्कले सास फेर्नसमेत असजिलो बनाउन सक्छ । थप सुरक्षित हुन चाहेमा वा मास्कले कुनै पनि अप्ठ्यारो महसुस गराउन सक्छजस्तो लागेमा मास्क परिवर्तन गर्नु नै उचित हुन्छ । साथै, आफूसँग सधैं एकभन्दा बढी मास्क बोकिरहनु पर्छ । यसले हालको अवस्थामा थप सुरक्षित राख्न मद्दत गर्न सक्छ ।