Rumpum Advertisement

घरेलु मैदानमा पीएसजीले अंक बाँड्यो

घरेलु मैदानमा पीएसजीले अंक बाँड्यो

विराटनगर, १४ मंसिर । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अंक बाँडेको छ । शनिबार राति भएको खेलमा बोर्डेअक्ससँग २–२ गोलको बराबरी खेल्दै पीएसजीले अंक बाँडेको हो ।

पीएसजीको मैदानमा बोर्डेअक्सले सुरुआती अग्रता बनाएको थियो । दसौं मिनेटमा टिमोथी पेम्बेलेले आत्मघाती गोल गरेपछि बोर्डेअक्सले अग्रता बनाएको थियो ।

खेलको २७औं मिनेटमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

त्यसको एक मिनेटपछि मोइसे किनले गोल गर्दै पीएसजीलाई पहिलो हाफभरि अग्रता दिलाए ।

६०औं मिनेटमा याकिन अदिलले गोल गर्दै बोर्डेअक्सलाई बराबरीमा फर्काए । त्यसपछि बाँकी समयमा गोल हुन सकेन र पीएसजी आफ्नै घरमा अंक बाँड्न बाध्य भयो ।

बराबरीसँग पीएसजीले १२ खेलबाट २५ अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ ।

बोर्डेअक्स भने १६ अंकका साथ ११औं स्थानमा छ ।