birat ribon

सुमित्रा

Neuro
सुमित्रा
पेशल आचार्य

सुमित्रा हाँस्दा गालामा खोपिल्टो पर्दो रहेछ । निकैपछि पो मैले ख्याल गरेँ । मोरी कति राम्री ? आजको पहिलो भेटमा उसको मुस्कानले मलाई एकतमासले तान्यो । कताकता मलाई झनन्न भएर आयो । मोरीले सेन्ट के विधि छरेकी नि ! हरक्कै आउने गरी । कहिलेकाहीँ त मलाई यी गाउँले केटीले सेन्ट छर्किएकोभन्दा पनि प्राकृतिक सुगन्धै निको लाग्छ ।

cura insider

गमलामा फुलेको फूलभन्दा बगैँचामा फुलेको फूल नै मनमोहक हुन्छ । कति मनमोहक ! यो प्रकृतिको उपहार हो ।

‘ओ लेखक, आज म तिमीसँग एउटा कुराको फैसला नै गर्न आएकी ?’ उसले भनी ।

‘के भनन ? मलाई आज अलि फुर्सद् पनि छैन के ?’ मैले आफ्नो तर्फबाट भने ।

‘म तिम्री पात्र । अरू दिन रचनामा तिमी हामीलाई चाहेको क्यारेक्टर गर्न लगाएर खुब नचाउँछौ होइन ?’ उसले निकै मादकपूर्ण आँखाले मलाई इसारा गरी ।

‘हो त ।’ मैले सकारेँ ।

‘हो । त्यसैले म आज अरू दिनको तिम्रो चित्रणको रङ्गीन प्रयोग गर्न चाहन्छु ।’ अब भने उसले लाजको जिनिस पनि नराखीकन मलाई खुलस्त पारिदिई ।

म पनि के कम ? कथाकारको सिद्धान्तलाई पात्रले नै प्रयोगात्मक तबरले सिकाएको सिक्न उत्सुक र लालयित थिएँ ।

निकै गफ गर्ने मुडमा रहिछ– ऊ आज । सके तात्तिएकी पनि थिई कि ? म भने आजै कथा लेख्ने मुडमा थिएँ । हामी कथाकारलाई पनि बिनासित्ती कहिलेकाहीँ मुडसुड आउने गर्छ ।

गल्ती त मेरै हो । हामीले निर्माण गरेका यस्ता पात्रहरूलाई आफ्नो मनपेट हुने गरी मनका कुरा खोलीबाँसुली हुन नदिनु पर्ने हो । तर म पनि लेखक न ठहरिएँ । होद्रो । मैले प्रयोगको यो सिलसिलालाई एक प्रकारले च्यालेन्ज नै गरेँ । आखिरमा म पनि किन पानीमरुवा हुन सक्थेँ । मलाई पनि भविष्यमा लेखिने अरू कथाका लागि प्लट र विषयवस्तु जो चाहिएको थियो ।

कोठामा एक प्रकारको शान्ति छ । जसले निरवता ल्याइदिएको छ । लेखकको कोठा भएकाले अनेकानेक सामानहरू छरिएका छन् । मलाई फुर्सद भएका बेलामा लेख्न नै मन पर्ने भएकाले यो कोठासोठा सफा गर्न हम्मेसी जाँगर चल्दैन । कहिले के कहिले के मुड आउनुको मजा पनि आफ्नै तालको हुन्छ ।

कोठामा म र यही कथाकी पात्र सुमित्रा छौँ । म हल्का पेय र सोका लागि चाहिने स्न्याक्स बनाएर भित्रबाट आफ्नो कोठा लक गरेर कथाका बारेमा घोत्लिएको मात्र थिएँ ।

अचम्मै भयो ।

मेरो कथाका पानाहरूबाट एउटी स्त्रीलिङ्गी आकृतिको क्रमशः पदार्पण हुँदै त्यो मानवाकृतिमा परिणत भयो । म पनि आफ्नो पेग बनाएर जब आफ्नो मुडलाई ल्यापटपमा सरररर टाइप गर्न थालेँ, तत्क्षण अनायासै त्यो धुमिल चित्र बोल्न थाल्यो ।

‘हाई, लेखक सन्चै हुनुहुन्छ ?’ चित्रले सोध्यो मलाई ।

‘हो । म सन्चै छु । अनि तिमी को हौ त ?’ मैले सुस्तरी भनेँ ।

‘ए ! हजुरको कथा सुमित्राकी नारी पात्र सुमित्रा ।’ –सुमित्राले उसको परिचय दिई ।

लौ ! कस्तो अचम्म भो आज । कथाको पात्र पनि साकार रूपमा आएर कथाकारसँग सम्वाद गर्न लागिन् ।

‘के तिमी साँच्चै कि सुमित्रा हौ ?’ मैले जिज्ञासाको इलास्टिकलाई यसरी ताने तननननअ ।

‘हूँ । म हजुरकै पात्र हूँ । मलाई हजुरले आज यो कथामा जीवन्त चित्रणका लागि बोलाउनु भएको हुनाले म आफैँ उपस्थित भएकी ।’ अति नै मिठो भाषामा उसले आफ्नो कुरा खरररर राखी ।

म दावाका साथ के भन्छु भने यो नेपाली कथाको इतिहासमै अहिलेसम्मको त्यस्तो अनौठो घटना हो । जो अहिलेसम्मकै पहिलो र अन्तिम हुन सक्छ । उत्तरआधुनिक समयमा यो अजबको चाल मैले पनि नभोगेको र चाल नपाएको थियो । म किँ कर्तव्य विमूढको स्थितिमा पुगेँ ।

मलाई त अति नै आनन्दको महसुस भयो ।

मैले यो मेरो बत्तीसतेत्तीस वर्षको कथा लेखन इतिहासमा यस्तो न कहिले देखेको थिएँ । न कहिले सुनेको थिएँ । म अचम्म भएँ । मलाई अब रोमाञ्चानुभूति र डरानुभूति एकैपल्ट भयो ।

सरासर ऊ मेरो नजिक आई । ल्यापटप अन नै थियो । तर त्यो पावर सेवरमा गइसकेको थियो । मैले आफूलाई ठिक पारेको एक पेग जिनलाई देखाएर उसले इसारा गरी ।

मैले बुझेँ ।

ऊ पनि लेखक याने कथाकारसँगै पिउने इच्छा जाहेर गर्दैछे ।

जिन छ । भरि एक फुल बोटलमा छ । तर मलाई कै लाग्दैछ भने कथाकार र पात्रसँगै भएर पिउँदा कतै सिन अनकन्ट्रोल त हुँदैन । के भर यी आधुनिक समयका उत्तरआधुनिक पात्रहरूको पनि । बेला न कुबेला जे पनि भन्न सक्छन् । जे पनि गर्न सक्छन् । आखिरमा यिनीहरू सहरी सभ्यताका न परे ।

उसैलाई मैले अराएँ । उसले आज्ञाकारी विद्यार्थीले झैँ खुरूखरू काम गरी । फ्रिजबाट पानी ल्याएर जिनलाई मिलाई अनि भान्सामा पसी र कागतीको टुक्रालाई गोलो पारेर काटी । त्यसपछि दुवैलाई मिल्ने गरी ती टुक्रा गिलासमा राखी ।

मैले मेरो जिन स्वाट्ट पारिसकेको थिएँ ।

उसले मेरो पेग पनि बनाई । पुरुष पेग । अलि लार्ज खालको । आफूलाई भने अलि सानो पेग हाली ।

किन सानो नि ? मैले भने ।

‘म हजुरका दाँजोमा पुग्नै सक्तिनँ । किनकि म पात्र हुँ । हजुर लेखक ।’ उसको सालीन उत्तरले मलाई आफ्नो हैसियत भुल्न दिएन ।

मैले पनि दोस्रो पेगमै सही । उसँगै पिउनका लागि उसलाई चियर्स भनेँ । मैले चियर्सभन्दा उसको मुस्कान फेरि उसको अनुहारभरि पोखियो । मोरीको गालामा खोपिल्टो पर्दो रहेछ । मलाई सुमित्राको गालाको खोपिल्टो अति नै मन पर्‍यो ।

बिस्तारै मैले कुरालाई अगाडि बढाएँ– ‘आइ लाइक योर डिम्पल भेरी मच सुमित्रा ।’

‘थ्याङ्क यु राइटर ।’ अब उसले पनि जिनको गिलाससँगै भन्न थाली ।

‘यू आर वेलकम माई डियर क्यारेक्टर ।’ यति त मैले भन्नै पर्दथ्यो सायद् ।

अनि हामीले क्रमशः तीन, चार, पाँच, छ र अन्तिम भन्दाभन्दै पनि सात र आठौँ पेग पनि खायौँ । उसले जति पेग खाएकी हुन्थी । त्यसभन्दा एकपेग मैले बढी खाएको हुन्थ्यो नै । किनकि मैले उसलेभन्दा एक पेग ऊ मेरो कोठामा आउनुभन्दा अघि नै खाइसकेको थिए ।

मैले मनमनै भनेको कुरा भई छाड्यो । मैले जे नहोस् भनेको थिएँ । आखिर भयो पनि त्यही । पात्र भनेको पात्रै हो । मानिसहरू भन्दछन् नि कुकुरलाई धेरै माया गरेर आफ्नो अनुहारनेर लगेर माया गर्‍यो भने त्यसले मुखमा चाट्छ रे ! हो ! रहेछ । तर यहाँ कुकुर त थिएन । कुकुरको प्रतीकजस्तै मेरो आफ्नै कथाकी पात्र थिई ।

रक्सीले आफ्नो वास्तविक रूप पछि देखाउँछ । देखायो पनि । उसलाई अब राम्ररी भनौ नराम्ररी नै रक्सी लागेको थियो । ऊ अब आफू कथाकार र मलाईचाहिँ पात्र बनाउने मुडमा थिई । उसले मैले चोरी औँलाले आफ्नो प्लेटमा घुमाएर चाटिरहेको स्न्याक्सको औँलालाई च्याप्प समातेर आफ्नो मुखनेर पु¥याई र च्वाप्प चुसिदिई ।

अनपेक्षित घटनाले म एक भन्नु न दुई भन्नु भएँ ।

उसले सगौरव भनी– ‘अब म हजुरको कथा लेख्छु । हुन्छ ? कि हुन्न ?’

‘जसले कथाको भाँती पुर्‍याउँछ । उसले लेख्ने हो– कथा । यसमा म र तिमी भन्ने कुरा नै के रह्यो र ? तिमी र मभन्दा बाहेक पनि त यो संसारमा अरूले कथा लेखिरहेका छन् । जतिजनाले कथा लेखे पनि समाजका चरित्रलाई जीवन्त रूपले उतार्ने न हो ।’ कथाकारका तर्फबाट मैले शालीन उत्तर त दिएँ । तर हामी नेपाली कथानक चलचित्रमा कथाले मागेजति भन्ने स्थितिमा पुगिसकेका थियौँ ।

मैले यो अवस्था भोग्नु पर्ला भन्ने जुन डर मनमा पालिरहेको थिएँ । त्यसले मलाई आज चकित पारेको छ । यो पात्रको मप्रतिको समर्पण हो कि मैले उसलाई फकाउने मेलो हो । मैले केही बुझ्न सकिनँ ।

उसले भनी– ‘आजसम्म हामी पात्रहरू चुप थियौँ । हजुर लेखकहरू सक्रिय हुनुहुन्थ्यो । अब हामी पात्रहरू सक्रिय हुन्छौ । हजुर लेखकहरू चुप हुनु पर्दछ । हामी कुसुलेको हातको पुतलीजस्तो भयौँ । व्यक्तिको हातको चलाइको मर्जी । हामीले आधुनिक कथाहरूमा निकै भूमिका पायौँ । हजुरआमा, आमा, बुहारी, प्रेमिका, पत्नी, रखेल, वेश्या र अरू पनि … । कि कसो ?’

मैले केही बोल्न सक्ने स्थिति थिएन ।

ऊ मात्तिए पनि आत्तिएकी थिइन । उसले मलाई गृहकार्य गर्न लागेको एलकेजीको विद्यार्थीले झैँ कापी मोडेर ओल्टाईपल्टाई गरी । मैले आफूलाई उसका लागि समर्पण गरिदिँए । ऊ आफ्नो लेखनमा सक्रिय रही । म आफ्नो परीक्षणमा निस्क्रिय भएँ । मैले त्यो भूमिका परिवर्तनको कुरालाई भलिभाँती समर्थन गरेँ । मानौँ म धरती भएँ । ऊ वर्षा भई । वर्षा ऋतुको दर्के पानीझैँ ऊ निरन्तर ममाथि बर्सिरही । मैले धरतीले झैँ झ्वाइँय गरेर सहिरहेँ । ऊ छिट्ट्याई पानी पर्न सुरू गरेझैँ । दर्किन थाली पानी बाक्लिएझैँ । अनि त्यसैगरी केही क्षणको वर्षाइपछि ऊ क्रमशः मत्थर हुँदै गई । मैले उसलाई पानीकै रूपमा लिएँ । ऊ वर्षेकी थिई र पनि भिजी । म उद्वारा वर्षिएको थिएँ त्यसै भिज्ने भैहालेँ । यसरी मैले रहस्य र आनन्दको संयुक्त अनुभूति गरेँ । सायद् उसले पनि मैले जस्तो अनुभूति गरेको हुनुपर्छ ।

मलाई उसले आज यसरी मेरै कोठामा पात्र बनाएर प्रयोग गर्ली भनेर सोचेको पनि थिइनँ तर मलाई हाम्रो भूमिका परिवर्तनको कथा भने अति नै निको लाग्यो ।

प्रिय पाठकहरू अवसर पाएँभने यो पृथक् अनुभूतिको कथा पनि म यहाँहरूलाई इमान्दारीपूर्वक अवश्य पस्कनेछु ।

jackson ribon