birat ribon

कोभिड जितेकी लक्ष्मी भन्छिन् : सावधानी अपनाएको छु, मैले जस्तै लक्षणलाई बेवास्ता नगर्नुहोस्

Neuro
कोभिड जितेकी लक्ष्मी भन्छिन् : सावधानी अपनाएको छु, मैले जस्तै लक्षणलाई बेवास्ता नगर्नुहोस्

विराटनगर, १३ मंसिर । २६ वर्षीय प्रेम लक्ष्मी बानिया आचार्यले संक्रमणबाट बच्नका लागि सबै आवश्यक सावधानी अपनाइरहेकी थिइन् ।

काठमाडौँमा बस्दै आएकी उनी जुम्लामा रहँदा संक्रमित भएकी थिइन् । कर्णाली एकेडेमी अफ हेल्थ साइन्स, जुम्लामा काम गर्ने उनका पतिका साथ रहँदा उनलाई भाइरसको संक्रमण भएको थियो । उनकी तीन वर्षे छोरीका लागि चिन्तित उनले बच्चा, पति र परिवारलाई भाइरसबाट सुरक्षित राख्नका निम्ति घरबाट टाढा आइसोलेसन सेन्टरमा गएर बस्न गइन् ।

cura insider

उनले कोभिडलाई यसरी जितिन् :

सुरुमा हल्का टाउको टुखाइ भएको जस्तो महसुस भयो । संक्रमणबाट बच्नका लागि सक्दो सावधानी अपनाइरहेको हुँदा चिसो बढेका कारणले टाउको दुखेको हो जस्तो सोचेर यसलाई बेवास्ता गरेँ । दुई दिनपछि टाउको दुख्न पनि निकै कम भयो तर, लगातार एकदेखि दुई घण्टासम्म नाकबाट पानी बगेकोजस्तो महसुस हुन थाल्यो । यस संकेतलाई पनि मैले चिसो वा धुलोका कारण एलर्जी भएको सोचेर फेरि पनि बेवास्ता गरेँ । बिस्तारै जिउ गलेको जस्तो, छाति दुखेको र पेट दुखेको अनुभव हुन थाल्यो । पेटमा एकदम दबाब परेकोजस्तो महसुस हुनुका साथै, पखाला पनि चल्यो ।

त्यो दिन पनि देखिएको लक्षण कोभिडसँग सम्वन्धित हुन नसक्ने भनेर बेवास्ता गरेर कटाएँ । त्यसको भोलिपल्ट बिहानसम्म पनि छाती र पेटको दुखाइ कम हुनुभन्दा पनि बढ्दै गएको कारणले अस्पताल गएर भिडियो एक्सरे र इसीजी गराएँ । तर, भिडियो एक्सरे र ईसीजीको रिपोर्टमा मलाई खासै केही पनि समस्या भएको पत्ता लग्न सकेन । त्यही दिनको दिउँसोतिर शरीरमा केही उर्जा नभएको, थकान तथा पूरै गलेको जस्तो मससुस भयो । दुई दिनसम्म पखाला लागे पनि मलाई ज्वरो भने आएको थिएन । धेरै विचार गरेपछि मलाई कोभिडको संक्रमण पो भएको हो कि जस्तो डर लागेर आयो ।

पति फिजिकल थेरापिस्ट भएको र उहाँले नै स्वाब संकलन गर्ने हुँदा उहाँलाई आफ्नो कोभिडको परीक्षण गरिदिन आग्रह गरेँ । उहाँले स्वाब संकलन गरेर टेस्टका लागि नमुना ल्याबमा पठाइदिनु भयो । स्वाब दिसकेपछि झनै शरीर गलेको जस्तो, उर्जा नभएको जस्तो महसुस हुँदै गयो । रिपोर्ट आउने दिन भने शरीरको तापक्रम १०० डिग्रीसम्म पुगेको थियो, तर केही समयपछि सामान्यमा फर्किएको थियो । २ कात्तिक बेलुका ६ः३० बजेतिर रिपोर्ट पोजिटिभ आएको खबर पाएँ । रिपोर्ट पोजिटिभ आएपछि मैले घरको आइसोलेसनमा भने नबस्ने निर्णय गरेँ ।

मेरो तीन वर्षको छोरी छिन् । छोरी, पति र घरका अन्यलाई पनि मबाट संक्रमणको जोखिम हुन सक्छ भन्ने डरले मैले अस्पतालको आइसोलेसन सेन्टरमा बस्ने सोच बनाएँ । आइसोलेसन बसेको एक साता नपुग्दै देखिएका लक्षण सबै हराए । शरीरमा भाइरल लोड पनि कम भएका कारण आइसोलेसनमा बसेको १० दिन अर्थात् ११ कात्तिकमा म संक्रमणमुक्त भएँ अर्थात् मेरो रिपोर्ट नेगेटिभ आयो । अस्पतालको आइसोलेसनमा बसेको अवधिभर भिटामिन सी र दिनको ३ टाइम पारासिटामोलको सेवन गरेँ । यसबाहेक मैले अन्य कुनै औषधिको सेवन भने गरिनँ । खाने कुरा, प्रशस्त मात्रामा पानी र सामान्य व्यायाममा जोड दिएँ ।

सक्दो मानसिक र शारीरिकरुपमा सक्रिय भइरहेँ । अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको १४ दिनसम्म सेल्फ आइसोलेसनमा बसेर आराम गर्नुको साथै, खानपानमै ध्यान दिएँ । कोभिडसँगको लडाइँ जितेको एक महिना बितिसकेर सामान्य जीवनशैलीमा फर्किसक्दा पनि कहिले काहीँ अझै पनि जिउ गलेको, उर्जा नभएको जस्तो महसुस हुन्छ । संक्रमणबाट बच्नका लागि सक्दो सावधानी अपनाइरहेको हुँदा म कहाँबाट र कसरी संक्रमण हुन पुगेछु भन्ने मलाई हालसम्म पनि थाहा छैन । संक्रमणको पहिलो चरणमा देखिएको संकेतलाई बेवास्ता गर्नु नै मेरो सबैभन्दा ठूलो भुल भएको जस्तो लाग्छ ।

संक्रमणको समयमा मैले शारीरिक र मानसिक समस्या दुबै महसुस गरेँ । यस्ता चुनौतीलाई शब्दमा उतार्न सकिँदैन, तर वरपरको राम्रो वातावरण र राम्रा मानिसले चुनौतीलाई सहज बनाउन मद्दत गर्न सक्छन् । अस्पतालको परिसरमै बस्ने हुँदा मैले खासै नकारात्मक कुराको सामना गर्नु परेन । सबैभन्दा सुरुमा नराम्रो सोच्ने, नराम्रो समाचार हेर्न तथा सुन्न बन्द गर्नु एकदम आवश्यक हुन्छ । किनभने कोरोनाबाट संक्रमण भएपछि मानिस धेरै आत्तिन्छ र यसबाट जोगिनका लागि मानसिकरुपमा बलियो हुनु अति आवश्यक हुन्छ भन्ने महसुस गरेको छु ।

आइसोलेसनको समयमा त्यहाँ रहेका अन्य संक्रमितको कथाले मलाई हौसला दिरहेको थियो । साथै, संक्रमणको पहिलो चरणमा टाउको दुखाइ, नाकबाट पानी बग्ने जस्ता चिसोका कारण देखिएको लक्षण भन्दै बेवास्ता गर्नुभन्दा पनि समयमा आइसोलेसनमा बसेर कोभिडको परीक्षण गराउन ढिला गर्न नहुने मेरो सुझाव छ । मैले मेरो कोभिडको कथा शेयर गर्नुको कारण पनि यही हो । परिवार, साथी, आफन्त तथा स्वास्थ्कर्मीले पनि मलाई सक्दो शारीरिक र मानसिकरुपमा साथ दिएका छन् जसका लागि म सधैं उनीहरूप्रति आभारी हुनेछु ।

jackson ribon