birat ribon

संस्मरणमा राष्ट्रकवि : भानुभक्तीय सहजता, लेखनाथीय कारीगढी, देवकोटेली भाका

Neuro
संस्मरणमा राष्ट्रकवि : भानुभक्तीय सहजता, लेखनाथीय कारीगढी, देवकोटेली भाका
टीकाराम सुवेदी

नेपाली भाषा साहित्यको समृद्धि तथा श्रीवृद्धिमा जीवन सुम्पेका राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली साहित्याकासमा दिगन्त चम्किरहने नक्षत्र हुन् । उनको सम्झना र सम्मान गर्न कुनै तिथिमिति चाहिँदैन, जसले, जहिले, जुन दिन, जहाँबाट गर्दा पनि हुन्छ ।

cura insider

गण्डकी प्रदेश, साविक पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चल लम्जुङ जिल्लाको ‘पुस्तुन’ गाउ“मा माता द्रोपतीदेवी र पिता गौरीशंकर शर्माका पुत्र माधवप्रसाद घिमिरेको जन्म १९७६ साल असोज ७ गते भएको थियो । जीवनको उत्तरार्धमा पनि प्रारब्धझैँ क्रियाशील रहेर उनले कुशल तथा प्रेरक शब्द शिल्पका साथ एक शताब्दी पार गरे, जुन आफैँमा एउटा लोभलाग्दो इतिहास बन्यो । सितिमिति दुनियाँले, लरतरे आँटले गर्न नसक्ने काम उनले एक सय एक वर्षको उमेरमा पूरा गरेर आफ्नो सङ्कल्प सिद्धि गरे, ऋतम्भरा महाकाव्य रचना गरेर ।

गाउँमै प्रारम्भिक शिक्षा आर्जन गरेपश्चात् घिमिरेले काठमाडौँ आएर संस्कृतअन्तर्गत सर्वदर्शन विषयमा शास्त्री (स्नातक) उत्तीर्ण गरे । बाल्यकालदेखि नै नेपाली साहित्यका विविध विधा र मूलतः कविता लेखनमा रुचि राख्ने घिमिरे नेपाली साहित्य जगतका भाषानुवाद परिषद् र नेपालको जेठो पत्रिका ‘गोरखापत्र‘को सम्पादक बन्न पुगे । उनले ‘इन्द्रेणी’ र ‘कविता’ नामक पत्रिकाहरूमा पनि सम्पादकको भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रकवि घिमिरले लोकलय, गीतिलय र संस्कृतका वार्णिक र वर्णमात्रिक लयमा समेत कविताहरूको रचना गरेका छन् । नेपाली प्रकृति, वनस्पति, चराचुरु¨ी, भूगोल, हिमाल, पहाड, तराईका जिजिविषा, लोक संस्कृति, रितिरिवाज, धर्मकर्म आदिलाई टक्क समेटेर चट्ट छन्द मिलाई, तथ्यको गहिरो यथार्थ पक्षलाई समेटी कविता रचना गर्ने राष्ट्रकविका कतिपय कवितांशले मलाई पनि व्यावहारिक जीवनमा गहन प्रभाव पारेका छन् ।

बाल्यकालमा भारतको नागाल्यान्ड, सनपति बजार, डनबस इङ्लिस स्कुलमा पढ्न थाल्दा बालसखा र ठूला साथीहरूसँग वनपाखा जाँदा खाएको मसिना राता रसदार गुलिया दाना, चिप्ला, फुस्रा मध्यम पात काँडादार मध्यम कदको बोटमा फल्ने गुहेली फल नेपालमा आई पढ्दै गर्दा, त्यो फल पछिसम्म खोजेँ मैलेँ । पढ्दा र पढाउँदा गहनरूपमा मनमा राखेको थिएँ । ‘डाकी मौरी मधुर रसमा लेकमा पाक्यो गुहेली,’ आहा ! साँच्चै त्यो फल म्याग्दी जिल्ला, धवलागिरी गाउँपालिका–४ बुद्धि विकास मावि मुदीमा ‘वैशाख’ वसन्त ऋतु वर्णन, मन्दाक्रान्ता छन्द भाका हाली–हाली धवलागिरी हिमालकै काख र छायामा बसी ‘मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको’ कविका यी सन्दर्भमा कतै, कुनै जन्ममा उहा“ र म सम्बन्धित थियौ“ जस्तो लाग्छ । म नपुगेको त्यो हिमालनेर तिमी जाऊ, पढाऊ, गुहेली टिपेर खाऊ भनी पठाउनुभएको भएको त होइन ? भन्ने शास्वत अनुभूति भएको छ । यस्तै अन्य, ‘लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा,’ ‘हा“सी खेली दुई दिन, कहा“ जान्छ यो जिन्दगानी,’ ‘मेरो काली लेकैलाई ताकेर जाने बादल,’ आदि हरेक कवितांशलाई गहनरूपमा मनन गरौ“ त कति गहिराइ छ ? करोडौ“ नेपालीप्रति कति आत्मिक सद्भाव भोगाइ अनुभूति र लेखनको यहा“भन्दा गहिराइ पाउन मुस्किलै होला ।

नेपाली साहित्यका चम्किला तारा राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्ष हुँदा पनि सशक्त, फुर्तिला र क्रियाशील हुनुको सम्झना हाम्रा लागि सदैव प्रेरक रहनेछ । घिमिरेले नेपाली साहित्यलाई नव मञ्जरी (१९९४), घामपानी (२०१६), बाल लहरी (२०३३) जस्ता कृतिहरू बाल कविता–संग्रहका रूपमा नेपाली साहित्यमा पस्किएका छन् । त्यसैगरी, किन्नर किन्नरी (२०३३)’ सुनपङ्खी चरीलगायत गिती कविता–संग्रह साथै अन्य फुटकर कविता ‘नया“ नेपाल (२०१३) मा संग्रहित छन् । गौरी शोककाव्य (२०१५), राजेश्वरी र पापीनी आमा खण्डकाव्य (२०१७), ‘धर्तीमाता (२०३०), राष्ट्रनिर्माता (२०३३), शकुन्तला (२०३३), मालती मङ्गले गीति नाटक (२०३९), अश्वस्थामा (२०५४) आदि प्रकाशित प्रबन्ध काव्यहरू हुन् । अथक सर्जक घिमिरेले २०१४ मा रोयल नेपाल एकेडेमीका लेखक र प्रज्ञा प्रतिष्ठानका उपकुलपति (२०३३) तथा कुलपति (२०४६) बनेर सफलतापूर्वक कार्य सम्पादन गरेका छन् ।

घिमिरेलाई नेपाली गीत र छन्दोबद्ध कविताभित्रको गहिराइमा खोजौ“, गीतकार तथा कविको रूपमा खोजौ“ त्यहा“ नै उनको सार्थक परिचय पाउन सकिन्छ । नेपाली जनजीवन, जात, संस्कार, गरिबी, जीवन भोगाइका आरोह–अवरोह, प्राकृतिक छाँगा, छाल, छहरा, लेक, बादल, फलफूल, हिमाल, झरना, ताल, सुन्दर पुष्प, मृगको दौड, चरीको कण्ठ–लहरीसमेतलाई समेटी लय, भाव र छन्द मिलेका काव्य रचना गर्ने, एक मुर्धन्य दूरद्रष्टा, कुशल स्रष्टा हुन् घिमिरे । उनका रचनाहरू करोडौ“ नेपालीको माया, बहुजाति, बहुधर्म, बहुसंस्कृतिका आँगन, पिँढी, भँडार र भजन, रोदी, सालैजो आदि स्थानमा समेत पुगेका छन् ।

राष्ट्रकवि कविता जगत्मा राष्ट्रिय ध्वजाका साथ भानुभक्तीय सहजता, लेखनाथीय, कारीगढी, देवकोटेली भाकाका समन्वय हुन् । कवि पूर्वीय दर्शनका गहन अध्येता, यस मान्यताका लोकलयलाई जीवित राख्ने समकालीन र नवपुस्ताका प्रेरणाका स्रोत, उत्साहका संवाहक हुन् । राष्ट्रकवि घिमिरेका रचनामा देशभक्ति, राष्ट्रियता, जातीय स्वाभिमान, हिन्दू धर्म, संस्कृति तथा सभ्यताको उठान, स्वच्छन्दतावादी, परिस्कारवादी शैली पाइन्छ । पद्यात्मक शैली, जातीय संस्कृतिका संरक्षक र हरेक नेपालीका स्नेही, सहृदयी, मानवतावादी रचनाकार हुन् ।

सृष्टिको सौर्यमण्डललाई सूर्यका सङ्गी ग्रह–उपग्रह, नक्षत्र, तारा आदिले शोभायमान तुल्याएझैँ नेपाल, नेपाली भाषा, संस्कृति सभ्यतालाई प्रगतिको सगरमाथा आरोहण गराए घिमिरेले । आफ्नो समयको युगकै प्रतिनिधित्व गरेवापत स्रष्टा घिमिरे त्रिभुवन पुरस्कार (२०३३), आदिकवि भानुभक्त आचार्य पुरस्कार (२०५२), सीताराम पुरस्कार (२०५७), भूपालमानसिंह कार्की पुरस्कार (२०५५), साझा पुरस्कार (२०५५) आदिद्वारा विभूषित भए । उनलाई २०६० सालमा नेपाली भाषाका ‘राष्ट्रकविको’ उपाधिले सम्मान गरिएको हो । नेपाली भाषा–काव्य क्षेत्रका चम्किला नक्षत्र घिमिरेलाई नेपालको पूर्वाञ्चलमा बाजागाजा, रथयात्रासहित नागरिक अभिनन्दनसमेत गरिएको थियो । नेपाली साहित्याकासका मूर्धन्य व्यक्तित्व राष्ट्रकवि घिमिरे नश्वर शरीर २०७७ साल भाद्र २ गते मंगलबार साँझ सुस्तायो । भोलिपल्ट राट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा उहाँको बिदाइ भयो । उहाँको यो महाप्रस्थानसँगै नेपाली साहित्य अपुरणीय क्षति ब्यहोर्न बाध्य भयो ।

लेखन कार्यको अन्तरार्धमा रहेको मेरो आधुनिक नेपाली निबन्ध–संग्रह प्रकाशनको सुअवसरमा यसको शीर्षकसहित उहा“लाई भेटेर केही भलाकुसारी गरी राय–सुझाव लिने इच्छा थियो । तर योसहित सोचिएका अनेकौँ काम अपूर्ण रहे । एक सचेत राष्ट्रवादी, बौद्धिक दूरद्रष्टा सबै नेपालीको मुटुमा भक्कानो छुटाई चीरनिद्रामा लीन भए । इहलीला समाप्त गरे पनि आफ्ना असंख्य अनमोल कृतिमा अमर रहनेछन् राष्ट्रकवि । उनी साथमा नभए पनि उनले मार्गदर्शन गरेजस्तै सदैव हरेक नेपालीले ज्योतिको पङ्ख उचाली देशको गीत गाइरहनेछन् । यो नै उनीप्रतिको सच्चा सम्मान हुनेछ ।

jackson ribon