विराटनगर, १२ मंसिर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई कोरोना संक्रमितको उपचार गरिरहेका विराटनगरको निजी अस्पताल पुग्दा संक्रमितका आफन्त धुरुधुरु रोएका छन् ।
शुक्रबार निजी अस्पतालको अनुगमनमा पुगेका मुख्यमन्त्री शेरधन राईलाई भेट्दा संक्रमितका आफन्त धुरुधुरु रोएका हुन ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीलाई लिएर मुख्यमन्त्री राई नोबेल मेडिकल कलेज, न्यूरो अस्पताल र विराट मेडिकल कलेज पुगेका थिए ।
मुख्यमन्त्री अस्पतालमा पुग्दा अस्पतालले लिने शूल्क र गर्ने व्यवहारका राेएका हुन ।
अस्पतालको दैनिक उपचार शुल्क धान्न नसक्ने गुनासो गर्दै विरामी कुरुवाले रुदै मुूख्यमन्त्री राईसँग सहयोग मागे ।

भोजपुरको हतुवागडी–४ की शान्ति राई मुख्यमन्त्रीकै अगाडी अस्पतालको बिल सम्झेर रोइन् । बुबालाई भेण्टिलेटरमा राखेर उपचार गराउँदा दिनको ५० हजार तिर्नु परेको उनको गुनासो थियो ।
मंसिर ८ गते बुबालाई भर्ना गर्दा सुरुमै तीनलाख बुझाउनु परेको सुनाउँदा उनी भक्कानो छाडेर रोइन् । सरकारी उपचार राम्रो नहुने र निजीमा लैजदा खर्च धान्न नसक्ने अवस्था आएको उनले बताइन् ।
मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजबंशी कात्तिक ३० यता विराट मेडिकल कलेजमा आमाको उपचार गराइरहेका छन् । मुख्यमन्त्री पुग्दा उनले दैनिक २० हजारदेखि ४५ हजारसम्मको बिल तिर्नुपरेको दुखेसो गरे ।
नोबेल मेडिकल कलेजमा उपचार गराई रहेको विरामीका आफन्तले पनि रुदै मुख्यमन्त्रीलाई समस्या सुनाए । बुबालाई आइसोलेसनमा भर्ना गराएका इनरुवाका त्रिलोकचन्द्र गुुप्ताले अस्पतालले दिएको दुःख रुदै सुनाए ।
आफन्त भेट्न दिनको दुई हजार
तप्लेजुङबाट श्रीमतीलाई उपचारका लागि नोबेलमा भर्ना गराएका कृष्ण मुक्तानले विरामीको अवस्था कस्तो छ भनेर जानकारी पाउनै मुस्किल परेको बताए । विरामीलाई भेटन जान पनि प्रत्येक पटक २ हजारको पिपिइ सेट किन्नु परेको गुनासो गरे ।
विरामी कुरुवाले संक्रमितको खानापान र हेरचाह राम्रो नुहुने भन्दै सुधार गरिदिन आग्रह गरे ।
निशुल्क उपचार गर्नु : मुख्यमन्त्री
तीनवटा अस्पतालकाे अनुगमन पछि मुख्यमन्त्री राईले विपन्न नागरिकको निशूल्क उपचार गर्न निर्देशन दिएका छन् ।
जनताले उपचारमा पाएको सास्ती अनुगमनका क्रममा थाहा भएको उनले बताए । उनले स्वघोषणा गर्ने संक्रमितको उपचार खर्च राज्यले व्योहोर्ने भएकाले शुल्क नलिन निर्देशन दिए ।
काेराेना संक्रमितलाइ भेण्टिलेटरमा राख्नदा नोबेलले दैनिक २० हजार शुल्क लिने गरेको छ । न्यूरोले भेण्टिलेटर चार्ज दिनको ३० हजार तोकेको छ । विराटमा भेण्टिलेटरमा बसेर उपचार गर्दा दैनिक ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
विराटले केही दिनयता स्वघाेषणा गर्ने संक्रमितकाे उपचार निशुल्क सुरू गरेकाे छ । न्यूराे र नाेबेलले शूल्क लिइरहेका छन् ।
विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले महामारीको सम्पूर्ण दायीत्व सरकारको हुनु पर्ने बताए । गुणस्तरीय सेवा दिएकोले त्यहि अनुसारको खर्च पनि लाग्ने उनले बताए ।
सरकारले पठाएको पत्र प्रष्ट नभएकोले निशुल्क उपचार सुरु गर्न नसकिएको नोबेल मेडिकल कलेजका प्रबन्धक राजेश नेपालले बताए ।