birat ribon

एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु, दाजुको कोरोना रिपोर्ट पोजिटिभ, भाइको नेगेटिभ

Neuro
एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु, दाजुको कोरोना रिपोर्ट पोजिटिभ, भाइको नेगेटिभ

विराटनगर, १२ मंसिर । एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–२ का ७० वर्षीय दाजु गोपाल कोइराला र ६३ वर्षीय भाइ ईश्वरीप्रसाद कोइरालाको मृत्यु एक दिनको अन्तरमा मृत्यु भएको हो ।

cura insider

दुवै जनाको मृत्यु विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेशनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान मृत्यु भयो । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आइसकेका भाइ ईश्वरीको शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि गोपाललाई मंसिर ९ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनी लेटाङमै किराना पसल सञ्चालन गरेर बसेका थिए । पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या थियो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका गोपाललाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि ईश्वरीलाई २ मंसिर बिहान अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा त्यहीँ दिन रिपोर्ट पोजिटिभ आएको थियो ।

दाहालका अनुसार पुनः दोस्रो पटक पीसीआर गर्दा मंसिर ९ गते रिपोर्ट नेगेटिभ आयो । भाइको रिपोर्ट नेगेटिभ आएकै दिन अवस्था गम्भीर बनेपछि उपचारका लागि दाजुलाई अस्पताल भर्ना गरिएको थियो ।

‘रिपोर्ट नेगेटिभ आए पनि भाइको स्वास्थ्य अवस्था गम्भीर थियो,’ उनले भने, ‘कोरोनामुक्त भएपछि कोभिड वार्डबाट जनरल आईसीयूमा सारेर उपचार जारी राखिएको थियो ।’ श्वासप्रश्वासको समस्या रहेका ईश्वरीमा मधुमेह र फोक्सोसम्बन्धी पुरानै समस्या थियो ।

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेर गएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गर्दै रेम्डीसिभिर नामक औषधि पनि चलाइएको दाहालको भनाइ छ । ‘प्लाज्मा थेरापी विधिबाट उपचार गर्दै रेम्डीसिभिर नामक औषधि पनि दिइएको थियो,’ उनले भने, ‘तर कोरोना रिपोर्ट नेगेटिभ आएपछि जनलर आईसीयूमा सारेर स्वास्थ्यसम्बन्धी अरु समस्याको उपचार हुँदाहुँदै भाइको पनि मृत्यु भयो ।’

दाजु गोपालको मृत्यु भएको भोलिपल्ट ज्यान गुमाएका भाइ ईश्वरी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।

उनी कांग्रेस मोरङ क्षेत्र नम्बर १ ‘ख’ का सभापति थिए । साथै प्रदेशसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार बनेका उनी नेकपाका उपेन्द्र घिमिरेसँग पराजित बनेका थिए ।

कांग्रेसका नेता एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, पार्टीका जिल्ला सचिव मोदराज घिमिरेलगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेपछि शवको लेटाङकै चिसाङ खोलामा अन्त्येष्टि गरिएको कांग्रेसले जनाएको छ ।

जुझारु, इमान्दा र सहयोगी नेता एवं समाजसेवीको निधनले पार्टीलाई मात्रै नभएर सिंगो मुलुकलाई क्षति पुगेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले बताए । ‘उहाँ (ईश्वरी) मोरङको उत्तरी क्षेत्रमा कांग्रेसको खम्बानै हुनुहुन्थ्यो,’ राईले भने, ‘कांग्रेसको एउटा खम्बा ढल्दा पार्टीलाई मात्रै नभई मुलुकलाई पनि क्षति पुगेको छ ।’

‘एक दिनको फरकमा दाजु–भाइको मृत्युले गाउँनै शोकमा डुबेको छ । अर्कातिर दुई अभिभावकलाई एकै पटक गुमाउँदा परिवारमा ठूलो बज्रपात पर्‍यो,’ मेयर राईले भने, ‘परिवारका सदस्यहरु सम्हालिनसक्ने अवस्थामा छैनन् ।’

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले एकै घरका दाजु–भाइको मृत्युले सिंगो पार्टी र परिवार अत्यन्तै दुःखद् खवरको सामना गर्न बाध्य भएको बताए ।

jackson ribon