Rumpum Advertisement

विराटनगरका निजी अस्पतालको अनुगमनमा मुख्यमन्त्री

विराटनगरका निजी अस्पतालको अनुगमनमा मुख्यमन्त्री

विराटनगर १२ मंसिर । मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले विराटनगरका तीन ठूला अस्पतालको अनुगमन गरेको छ ।

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री राईसहितकाे टाेलीले विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्यूरो अस्पतालको अनुुगमन गरेकाे हाे ।

मुख्यमन्त्री शेरधन राईले जनताले कस्तो उपचार सेवा पाइरहेका छन् भन्ने बुझ्न अनुगमन गरेको बताए ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले स्वघोषणा गरेर आफैँ उपचार गर्नेबाहेक सबैलाई निःशुल्क गर्न भनी मंसिर ३ गते पत्रचार गरिसकेको छ । मन्त्रालयले जनरल वार्डमा बस्नेसँग ३५ सय, आईसीयूमा ७ हजार र भेन्टिलेटरको दैनिक १५ हजार तोकिदिएको छ ।

अनुगमनका क्रममा बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले केही दिन यता सरकारकाे निर्णय अनुसार उपचार सुरु गरेको पाइएकाे थियाे । नोबेल मेडिकल कलेजले र न्यूरो अस्पतालले भने सशुल्क उपचार गरिरहेकाे पाइएकाे छ ।

नोबेलमा भेण्टिलेटरमा उपचार गर्दा दैनिक २० हजार र न्यूरो अस्पतालमा ३० हजार लिने गरेको पाइएकाे छ ।

अनुगमनको क्रममा मुख्यमन्त्री राईले उपचार गराइरहेका बिरामीका आफन्तको गुनासोसमेत सुनेका थिए । नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीका आफन्तले आइसोलेशनको व्यवस्थापनमा राम्रो नभएको गुनासो गरेका थिए ।

आफ्ना बिरामीलाई खानेकुरा र आवश्यक सामग्री ल्याइदिँदा पनि नपुर्‍याइदिने गरेको सुनसरी इनरुवाका त्रिलोकचन्द्र गुुप्ताले बताए ।

ताप्लेजुङका कृष्ण मुक्तानले पनि श्रीमतिलाई संक्रमण भएपछि नोबेलमा उपचारको लागि ल्याएका छन् ।

बिरामीको अवस्था कस्तो छ भनेर थाहा पाउनै मुस्किल परेको बताए । बिरामीलाई भेट्न जान पनि प्रत्येक पटक २ हजारको पीपीइ सेट किन्नुपर्ने उनीहरूले बताए । ‘बिरामीको बारे प्रष्ट जानकारी नपाउँदा औषधि किन्ने पैसा पीपीई किन्नमै ठिक्क हुने अवस्था आइसक्यो,’ मुक्तानले भने ।

नोबेलमा बिरामीका अफन्तले उपचार राम्रोसँग हुने व्यवस्था मिलाइदिन मुख्यमन्त्रीसँग आग्रह गरेका थिए ।

सरकारले पठाएको पत्र प्रष्ट नभएकोले निःशुुल्क उपचार सुरु गर्न नसकिएको नोबेल मेडिकल कलेजका प्रबन्धक राजेश नेपालले बताए ।

दीर्घ रोग भएका र बढी समस्या भएका संक्रमितलाई मात्र भर्ना गरेर उपचार गर्ने गरेको बताए । अन्य बिरामीलाई भने घरमै पठाउने गरेको उनले बताए ।

विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमानसिंह कार्कीले महामारीको सम्पूर्ण दायित्व सरकारको हुनुपर्ने बताए । उनले गुणस्तरीय सेवा दिएकोले त्यहीअनुसारको खर्च पनि लाग्ने उनले बताए । उनले सशुल्क उपचार गर्दा तीन लाखसम्म डिपोजिट लिने गरेको समेत बताए ।

मुख्यमन्त्री राईले सरकारकाे निर्णय अनुसार निशुल्क उपचारकाे व्यवस्था गर्न निर्देशन दिएका छन् ।