birat ribon

जाडोमा विराटनगरका विपन्न परिवार : त्रिपालले बेरेको छाप्रोमा परालको ओछ्यान

Neuro
जाडोमा विराटनगरका विपन्न परिवार : त्रिपालले बेरेको छाप्रोमा परालको ओछ्यान

मोहन ढकाल
विराटनगर, १२ मंसिर । कोरोना महामारीका करण रोजगारी गुम्दा कष्टकर जीवनयापन गरेका विपन्न समुदायको दैनिकी चिसोका कारण कष्टकर बनेको छ । कोरोना महामारीका कारण हातमुख जोड्न समस्या भइरहेको अवस्थामा चिसोका कारण दैनिकी झन् कष्टकर बनेको हो ।

विराटनगर महानगरपालिका–१९ का अमी ऋषिदेव उमेरले ७० नाघे । उनलाई आफ्नो उमेर कति हो भन्ने ज्ञान छैन । वरिपरि त्रिपालले बेरेको सानो छाप्रो उनको बास छ । सुत्नको लागि खाट छैन, न त न्यानो कपडा नै । जाडोमा सुत्नका लागि भुइँमा पराल ओछ्याएका छन् ।

cura insider

छाप्रोमा श्रीमान्–श्रीमती मात्रै बस्छन् । पछिल्लो समय दुवैजना बिरामी छन् । काम गर्नसक्ने अवस्था छैन । ज्येष्ठ नागरिक दुवैजना बिरामी भएका कारण हातमुख जोड्न समस्या छ । ‘म बिरामी छु । श्रीमती पनि बिरामी,’ उनले भने, ‘कहिलेकाँही श्रीमती काममा जान्छिन्, त्यसैले बिहान–बेलुकाको छाक जसोतसो टरिरहेको छ ।’

अमीलाई जाडो मौसममा बिरामले बढी सताउने गर्छ । तर उनीसँग उपचार पर्ने पैसा पनि छैन । शरीरमा पनि एकसरो कपडाबाहेक केही छैन । घाम लागेको बेला सकिनसकी घाममा निक्लने गरेको सुनाउँदै उनले भने, ‘यो जाडो कसरी कटाउने भन्ने चिन्ता छ ।’

खान समस्या भएको अवस्थामा न्यानो कपडा खरिद गर्न सक्ने अवस्थामा छैनन्, उनी । ‘हामीजस्तो गरिबको पीडा खै कसले सुनिदिन्छ,’ उनले भने, ‘खान समस्या छ । कपडा कहाँबाट ल्याउनु, अहिले परालको ओछ्यान छ ।’

विराटनगर–१९ कै रामवती ऋषिदेवको अवस्था पनि उस्तै छ । उनका श्रीमानको मृत्यु भइसकेको छ । उनी केही समय बिरामी परेपछि अहिले खासै काम गर्न पनि सक्दिनन् । छोराको हप्तामा २–३ दिन काम हुन्छ । त्यसैले बिहान बेलुकाको दुई छाक जसोतसो टरिरहेको छ ।

जाडो बढिरहँदा उनलाई बिरामले झन् सताइरहन्छ । तर उनको घरमा पर्याप्त न्यानो कपडा छैन । कोरोनाका कारण लामो समय काम नचल्दा ऋण गरेरै भएपनि जसोतसो दैनिकी गुजारा गरेको सुनाउँदै रामवतीले भनिन्, ‘अब कसले पत्याउँछ हामीलाई । ऋण लिएर मात्र भएन बुझाउनलाई कमाइ छैन । जाडोमा न्यानो कपडा किन्नु हामी गरिबको लागि सपना जस्तै हो ।’ दुईछाक खान सोच्नुपर्ने यो बेलामा जाडोमा लगाउने लुगा जोहो गर्न नसकेको उनले बताइन् ।

लकडाउनअघि अरुको घरमा भाँडा माँझ्ने उनको काम कोरोना महामारीसँगै रोकिएको छ । ‘पहिला त काम गर्ने घरबाट पनि न्यानो कपडा दिन्थे तर अहिले काम गर्न पनि सक्दिँन, काम पनि पाइँदैन’, उनले भनिन् ।’

चम्पावती ऋषिदेवको अवस्था पनि उस्तै छ । घरमा न्यानो कपडा पनि छैंन । वृद्ध भत्ता आउँछ त्यसैले गुजारा चलिरहेको छ ।

एकसरो कपडाको भरमा जाडो कटाउनु पर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । ‘कसलाई भन्नु, चिनेजानेको कोही छैन,’ उनले भनिन्, ‘काम गर्न सकिँदैन । गरिबको जिन्दगी यस्तै कष्टमै बिताउनु पर्दोरहेछ ।’

उनीहरू जस्तै विपन्न वर्गको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । कोरोनाका कारण समस्यामा परेका उनीहरूले कहिले खाली पेटको सामना गरे भने अहिले जाडोसँग जुध्न बाध्य भएका छन् ।

jackson ribon