Rumpum Advertisement

बार्सिलोनाले नेयमार भित्र्याउने, स्टेडियमको नाम ‘क्याप नोउ लियो मेस्सी’ राख्ने

बार्सिलोनाले नेयमार भित्र्याउने, स्टेडियमको नाम ‘क्याप नोउ लियो मेस्सी’ राख्ने

विराटनगर, १२ मंसिर । स्पेनिस फुबटल क्लब बार्सिलोनाको अध्यक्ष पदका उम्मेदवार इमिली रौसाउदले नेयमारसहित दुई खेलाडी भित्र्याउने आफ्नो योजना रहेको बताएका छन् ।

अध्यक्ष पदमा विजयी भएमा ब्राजिलियन स्टारसहित दुई ठूला नामका खेलाडी अनुबन्ध गर्ने आफ्नो योजना रहेको रौसाउदले बताएका हुन् ।

यसै जनवरीमा बार्सिलोनामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । जोसेप मारिया बार्टोमेउले अघिल्लो महिना राजीनामा दिएपछि रिक्त रहेको सो पदका लागि रौसाउदको दाबेदारी छ ।

सन् २०१७ मा कीर्तिमानी रकममा बार्सिलोना छोडेका नेयमारलाई फर्काउने रौसाउदको योजना छ ।

‘म अध्यक्ष बनेको खण्डमा हामी दुई उत्कृष्ट खेलाडी अनुबन्ध गर्नेछौं, त्यसमध्ये एक नेयमार पनि हुन् । हामीले उनलाई क्याप नोउ फर्काउनका लागि काम गरिहेका छौं । नेयमार तयार भएमा यो सम्भव छ,’ उनले भने ।

‘हामीलाई आशा छ कि अर्को स्टार खेलाडीको नाम चाँडै नै घोषणा गर्नेछौं, जसलाई हामी किन्न गइरहेका छौं । ती दुई स्टार खेलाडी आएमा यहाँबाट अरु कसैले कतै जानुपर्नेछैन’, उनले थपे ।

यसैगरी रौसाउदले कप्तान लियोनल मेस्सीको नाममा क्याप नोउको नाम परिवर्तन गर्ने आफ्नो योजना रहेको पनि सुनाए ।

आफूहरूले निर्वाचन जितेमा बार्सिलोनाको खेल मैदानको नाम परिवर्तन गरेर ‘क्याप नोउ लियो मेस्सी’ राख्ने योजना रहेको रौसाउदले बताए ।

प्रतिक्रिया

Comments are closed.