birat ribon

कोरोना संक्रमणका कारण १७ दिनकी सुत्केरीको मृत्यु

Neuro
कोरोना संक्रमणका कारण १७ दिनकी सुत्केरीको मृत्यु

विराटनगर, १२ मंसिर । कोरोना भाइरस संक्रमणका कारण मोरङको रतुवामाई नगरपालिका घर भएकी सुत्केरीको मृत्यु भएको छ ।

cura insider

विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार राति ११ बजेतिर रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरी महिलाको ज्यान गएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारका क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पुरानै समस्या मृतकमा रहेको उनले बताए ।

श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए । दाहालका अनुसार गम्भीर अवस्थामा भर्ना गरिएकी महिलालाई तत्काल आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राख्दै उपचार थालिए पनि भोलिपल्टै ज्यान गएको हो ।

बचाउने प्रयास सफल नहुँदा कोरोना संक्रमित सुत्केरीले मृत्युवरण गर्नु परेको उनले सुनाए । कोरोना संक्रमण पुष्टि भए पनि निक्कै दिन होम आइसोलेसनमा राखेर अवस्था चिन्ताजनक बनेपछि मात्रै उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालको भनाइ छ । निमोनियाको असर र मृगौलामा समस्यासँगै कोरोना संक्रमण पनि थपिएपछि सुत्केरी अवस्थाकी महिलालाई बचाउन नसकिएको उनले बताए ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत छोरी जन्माएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएर घर पठायो । त्यतिबेला अस्पतालले आमा र छोरी दुवै स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी परिवारका सदस्यलाई दिएको मृतककी दिदीले बताइन् ।

त्यसको चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएका कारण उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको उनको भनाइ छ । विराटको आईसीयूमा भर्ना गरेर कात्तिक ३० गते पीसीआर परीक्षण गराउँदा पहिलो रिपोर्ट नेगेटिभ आएको थियो ।

सबै लक्षण कोरोनासँग मिल्दोजुल्दो रहे पनि रिपोर्ट नेगेटिभ आएको भनेर शंका व्यक्त गर्दै चिकित्सकले पहिलो रिपोर्ट प्राप्त भएको १२ घण्टाभित्रै दोस्रो पटक पीसीआर परीक्षण गर्न लगाएका थिए । दोस्रो रिपोर्ट भने पोजिटिभ आएको मृतककी दिदीले बताइन् । त्यहाँबाट पाँच दिनसम्म आईसीयूमा भर्ना गरेर उपचार गराएपछि स्वास्थ्य अवस्थामा केही सुधार भएपछि होम आइसोलेसनमा राख्ने गरी घर लगेको जानकारी उनले दिइन् ।

स्वास्थ्यमा सुधार हुँदै गएर अवस्था सामान्य बनेका कारण चिकित्सकसँग सल्लाह गर्दै घरमा होम आइसोलेसनमा राख्ने गरी लगिएको उनको भनाइ छ । तर त्यसको केही दिनपछि क्रमस स्वास्थ्य अवस्था बिग्रदै गयो । सुरुमा श्वासप्रश्वासको समस्या देखिएकी बहिनीको बोली नै बन्द भएपछि उपचारका लागि नोबेलमा बुधबार भर्ना गरिएको दिदीको भनाइ छ ।

कोरोनाको उपचार गर्नुपर्नेभन्दै आइसोलेसनमा भर्ना गरिएकी बहिनी जीवित नरहँदा परिवारका सदस्य र आफन्त सबै पीडामा रहेको उनले सुनाइन् । उनका अनुसार विराटबाट घर लैजाँदा म बाँचेर आएँभन्दै सबै आफन्तसँग फोनमा कुराकानी गरेर खुसी साटेकी बहिनीको मृत शरीर अस्पतालबाट निकाल्नु पर्दा सम्हालिनसक्ने अवस्थामा परिवारका सदस्य र कोही पनि आफन्त छैनन् ।

उपचारमा लापरबाही गरेर सुत्केरीको मृत्यु भएपछि अस्पतालले विभिन्न बहाना बनाएर मृत्युको कारण कोरोना देखाउने प्रयास गरेको आरोप परिवारको छ । मृतककी दिदीले संक्रमितको उपचार गर्ने ठाउँमा चिकित्सकनै नपुग्ने गरेको आफूहरुले सुनेको बताउँदै उपचारनै नपाएर बहिनीको ज्यान गएको हुनसक्ने उल्लेख गरिन् ।

बिहीबार राति नै बिरामीको मृत्यु भए पनि परिवारका सदस्य र आफन्तलाई शुक्रबार बिहान मात्रै जानकारी दिनुले पनि उपचारमा कमजोरी भयो भनेर शंका गर्ने धेरै ठाउँ रहेको उनले बताइन् । ‘चिकित्सकले नहेरेर र उपचार नपाएरै अरु पनि धेरै संक्रमितको ज्यान गएको छ भन्ने सुनिन्छ,’ उनले भनिन्, ‘सुत्केरी अवस्थाकी बहिनीले पनि उपचार नपाएरै मृत्युवरण गर्नुपरेको हाम्रो ठहर छ ।’ उनले बहिनीको मृत्युको बज्रपातसँगै भर्खर जन्मिकी बच्चीलाई कसरी हुर्काउनेभन्ने अर्को तनाव थपिएको पनि सुनाइन् ।

jackson ribon