Rumpum Advertisement

सञ्चारमन्त्री गुरुङ भन्छन् : सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन

सञ्चारमन्त्री गुरुङ भन्छन् : सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन

काठमाडौँ, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने तर्क गरेका हुन् ।

उनले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले इमान्दारिताका साथ काम गरिरहेको स्पष्ट पारे ।

उनले भने, ‘कुनै व्यक्ति वा समूहको स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन । समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री ओलीको विकल्प छैन ।’

मन्त्री गुरुङले सरकारको नेतृत्वबाहेक मन्त्रीपरिषद हेरफेरका लागि आफूहरू मन्त्री पद त्याग गर्न तयार रहेको बताए । ‘हामी मन्त्रीहरू परिवर्तन हुन तयार छौँ, तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन’, उनले भने ।

यसैगरी उनले कोरोना महामारी जस्तो संकटको समयमा सरकारको नेतृत्व गरेको पार्टी नेकपाभित्र विवाद हुनु दुःखद भएको बताए ।

सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको बताउँदै उनले भने, ‘यो बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।’